सन्दीप लामिछानेले काठमाडौं मेयर ११ को कप्तानी गर्ने

  फागुन २२, २०७७

काठमाडौं, फागुन २१ : काठमाडौंमा शनिबारबाट सुरु हुन लागेको मेयर कप क्रिकेटमा लेग स्पिनर सन्दीप लामिछानेले काठमाडौं मेयर ११ को नेतृत्व गर्नुहुने भएको छ । लामिछाने पाकिस्तान सुपर लिग (पीएसएल) खेल्न गत् साता कराँची जानुभएको थियो ।

नेपाल क्रिकेट संघका अनुसार पीएसएल स्थगित हुँदा सन्दीप लामिछानेलाई काठमाडौं मेयर टोलीमा राखिएको छ । पीएसएलमा खेलाडीहरु सङ्क्रमित हुन थालेपछि गत बिहीबारदेखि स्थगित हुन पुगेको थियो । सन्दीपले एउटै खेलमा सहभागी नहुँदै नेपाल फर्किनुपर्ने भएको छ । सन्दीप लामिछाने शनिबार मात्रै काठमाडौं फर्किनुहुनेछ ।

यसअघि घोषणा गरिएको काठमाडौं मेयर टोलीमा सन्दीप लामिछाने अटाउनुभएको थिएन । छ वटा प्रदेशबाट खेलाडी चयन गरी काठमाडौं मेयर ११ टोलीको घोषणा गरिएको छ । बागमती प्रदेश प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलसम्म पुगेकोले ऊ स्वतः मेयर कप क्रिकेटमा सहभागी हुन पाउनेछ ।

मेयर कपको उद्घाटन खेलमा शनिबार त्रिभुवन आर्मीले एपीएफको सामना गर्नेछ । काठमाडौं मेयर ११ ले भने आफ्नो पहिलो खेलमा आइतबार बागमतीको सामना गर्नेछ । उक्त खेल मूलपानी क्रिकेट ग्राउन्डमा हुनेछ ।

तपाईको प्रतिक्रिया