एथलेटिको बिल्बाओले कोपा डेल रेको दुईवटा फाइनल खेल्ने

  फागुन २२, २०७७

काठमाडौं, फागुन २१ : एथलेटिको बिल्बाओले कोपा डेल रेको सेमिफाइनलमा लेभान्टेलाई हराएको छ । बिल्बाओ पछिल्लो संस्करणको फाइनलमा पुगेको थियो । पछिल्लो संस्करणको फाइनलमा उसले रियल सोसिडाडको सामना गर्नेछ । कोरोना महामारीले रोकिएको उक्त फाइनल खेल अप्रिल पहिलो साता सेभियामा हुनेछ ।

जारी सन् २०२०–२१ संस्करणको फाइनल खेल १७ अप्रिलमा हुनेछ । उक्त खेल पनि सेभियामा नै हुनेछ । जारी संस्करणको फाइनलमा उसले बार्सिलोनाको सामना गर्नेछ । राउल गार्सिया र अलेक्स बेरेनगुएरले गर्नुभएको एक एक गोलले एथलेटिको बिल्बाओले लेभान्टेलाई २–१ ले हराउँदै फाइनलसम्मको यात्रा तय गराउन पर्याप्त भयो ।

पहिलो लेग १–१ को बराबरीमा सम्पन्न भएको थियो । पहिलो पटक कोपा डेल रेको उपाधि उचाल्ने अभियानमा रहेको लेभान्टेले खेल सुरु भएको १७ औं मिनेटमा नै रोजर मार्टिको गोलबाट अग्रता बनाउन सफल भयो । तर ३० औं मिनेटमा गार्सियाले पेनाल्टीलाई गोलमा परिणत गर्दा बिल्बाओ खेलमा फर्केका थियो ।

दोस्रो हाफ गोलरहित बराबरीमा सम्पन्न भएपछि खेल बराबरीमा धकेलिएको थियो । ११२ औं मिनेटमा बेरेन्गुएर रेमिरोले गर्नुभएको गोलले एथलेटिको बिल्बाओलाई लेभान्टेमाथि ३–२ को औसत जित दिलाउन पर्याप्त भयो । बार्सिलोनाले गत् बुधबार कोपा डेल रेको दोस्रो लेगमा सेभियामाथि ३–० जित हात पार्दै फाइनलमा स्थान सुनिश्चित गरेको हो । पहिलो लेगमा बार्सिलोनाले २–० को हार बेहोरेको थियो ।

तपाईको प्रतिक्रिया