भारतीय प्रधानमन्त्री मोदीले खोप लगाए

  फागुन १७, २०७७

काठमाडौं, फागुन १७ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोभिड १९ विरुद्धको खोप लगाउनुभएको छ । भारतले सर्वसाधारणका लागि खोप लगाउन खुला गरेपछि प्रधानमन्त्रीले कोभिड १९ विरुद्धको खोप लगाउनुभएको हो ।

भारतीय सञ्चारमाध्यमहरुका अनुसार सोमबारदेखि ६० वर्ष उमेरभन्दा बढी र अन्य रोगबाट ग्रसित ४५ वर्षदेखि ५९ वर्षसम्मका ब्यक्तिहरुका लागि खोप लगाउन खुला गरिएको छ । उक्त समूहभित्रका सर्वसाधारणले सरकारी अस्पतालमा निशुल्क रुपमा खोप लगाउन पाउनेछन् । खोप खरिद गर्न सक्ने क्षमता भएकाले नीजि अस्पतालमा समेत शुल्क तिरेर खोप लगाउन सक्ने बताइएको छ ।

६० वर्षभन्दा बढी उमेरका ब्यक्तिका लागि खोप खुला भएपछि ७० वर्षीय मोदीले सोमबार सबैभन्दा सुरुमा खोप लगाउनुभएको छ । उहाँले कोभ्याक्सिनको खोप लगाउनुभएको छ । कोभ्याक्सिन भारतले स्वतन्त्र रुपमा विकास गरेको खोप हो । उक्त खोप भारत बायोटेकले विकास गरेको हो । भारतको स्वास्थ्य नियामक निकायले हाल अक्सफोर्ड विश्वविद्यालय र आष्ट्राजेनेकाले संयुक्त रुपमा विकास गरेको कोभिशिल्ड र भारत बायोटेकको कोभ्याक्सिन खोपलाई प्रयोगका लागि अनुमति दिएको छ ।

खोप लगाए लगत्तै मोदीले ट्वीटरमा सर्वसाधारणलाई आ आफ्नो पालोमा खोप लगाउन आव्हान गर्नुभएको छ । भारतले जुलाई अन्तिमसम्म ३० करोड प्राथमिकता निर्धारित ब्यक्तिलाई खोप लगाइसक्ने लक्ष्य राखेको छ । तर खोप लगाउने दर अत्यन्तै कम देखिएको छ । जनवरी १६ देखि खोप लगाउन सुरु हुँदा ४५ दिनमा मात्र एक करोड ४० लाख ब्यक्तिले खोप लगाएका छन् ।

कोभिड महामारी सुरु भए यता भारतमा हालसम्म एक करोड दश लाख ब्यक्ति सङ्क्रमित भएका छन् । एक लाख ५७ हजारभन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ । गत् सेप्टेम्बर महिनामा दैनिक ९० हजार सङ्क्रमित थपिदै आएकोमा हाल उक्त संख्या घटेर दैनिक २० हजारभन्दा कम भएको छ । यद्दपी केही राज्यहरुमा भने कोभिड सङ्क्रमितको संख्या बढ्दो छ ।

तपाईको प्रतिक्रिया