शहीद स्मारक ‘बी’ डिभिजन लिग : खुमलटार र ब्वाइज युनियन विजयी

  फागुन १६, २०७७

काठमाडौं, फागुन १६ : शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबलअन्तर्गत आज भएका खेलमा खुमलटार युथ क्लब र ब्वाइज युनियन क्लब आआफ्नो खेलमा विजयी भएका छन् । ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा खुमलटारले झम्सिखेल युथ क्लबलाई १–० गोलअन्तरले पराजित गरेको हो । खुमलटारका लागि महेश राईले निर्णायक गोल गर्नुभएको हो । उहाँले खेलको तेस्रो मिनेटमा नै गोल गर्नुभयो ।

जितसँगै खुमलटारले आठ खेलमा १९ अङ्क जोडेको छ । खुमलटारले शीर्ष स्थानमा रहेको सातदोबाटोसँग बराबरी गरेको छ । यस्तै आठ खेलमा ६ अङ्क जोडेको झम्सिखेल लिगको दशौँ स्थानमा छ । लिगको आज भएको अर्को खेलमा ब्वाइज युनियन क्लबले नयाँबस्ती युवा क्लबलाई ३–० गोल अन्तरले पराजित ग-यो । एन्फा कम्प्लेक्सको मैदानमा भएको उक्त खेलमा ब्वाइजका लागि मिलन लिम्बूले ह्याटिक गर्नुभयो । उहाँले खेलको २१औँ मिनेटमा पहिलो गोल गर्नुभएको थियो । यस्तै पहिलो हाफको इन्जुरी समयमा उहाँले दोस्रो गोल गर्नुभयो भने खेलको ५७औँ मिनेटमा तेस्रो गोल गर्नुभयो ।

नयाँबस्तीका खेलाडीले गोल फर्काउन सकेनन् । जितसँगै ब्वाइजले आठ खेलमा १४ अङ्क जोडेको छ । ब्वाइज लिगको चौथो स्थानमा उक्लेको छ । यस्तै नयाँबस्ती आठ खेलमा ११ अङ्क जोड्दै लिगको पाँचौँ स्थानमा छ ।

तपाईको प्रतिक्रिया