साइक्लिङको उपाधि निर्दलले जिते

  फागुन १६, २०७७

बिर्तामोड, फागुन १६ : झापाको मेचीनगरमा आयोजित चालिस किलोमिटरको जेनियम साइक्लिङ च्यालेञ्ज प्रतियोगिताको उपाधि पाँचथरका निर्दल केरुङले जित्नुभएको छ ।

जेनियम युवा क्लब धुलाबारीले शनिवार आयोजना गरेको साइक्लिङ प्रतियोगितामा केरुङले चालिस किलोमिटरको यात्रा एक घण्टा २८ मिनेटमा पुरा गरी प्रथम उपाधि हात पारेका हुन् । केरुङ उपाधिसँगै ३५ हजार रुपियाँबाट पुरस्कृत हुनुभयो ।

प्रतियोगितामा दोस्रो हुनुभएका ताप्लेजुङका आशिस गुरुङले एक घण्टा ३६ मिनेट र तेस्रो उपाधि हात पार्नुभएका ताप्लेजुङका प्रविण राईले एक घण्टा ३८ मिनेटमा उक्त यात्रा पुरा गर्नुभयो । दोस्रो हुनेले ३० हजार रुपियाँ र तेस्रो हुनेले २५ हजार रुपियाँ हात पार्नुभयो ।

त्यसैगरी, चौथो हुने सचिन रिमाललाई तीन हजार रुपियाँ, पाँचौ हुने आकाश श्रेष्ठले दुई हजार तथा छैटौँ हुने विष्णुकुमार राई, सातौँ हुने प्रसिद्व वस्नेत, आठौँ हुने सुदिपकुमार गडेरी, नवौँ हुने युद्व राई र दशौँ हुने अजय राई (भूपु)ले एक एक हजार रुपियाँसहित ट्रफी प्राप्त गर्नुभयो ।

‘साइकल चलाऊ, स्वस्थ रहौँ, पर्यावरण जोगाऔँ, आन्तरिक पर्यटन प्रवर्धन गरौँ’ भन्ने नाराका साथ धुलाबारीदेखि सुरु भई शरणार्थी शिविर, शान्तिनगर, बहुबन, बेशीबजार, तेलपानी, बौद्धमोड, बाहुनडाँगी, नकलबन्दा, काँकरभिट्टा, इँटाभट्टा हुँदै पुनः धुलाबारीमा आएर प्रतियोगिता समापन भएको थियो । बिजयीलाई प्रदेश सभाका सदस्य गोपाल चन्द्र बुढाथोकीले पुरस्कार प्रदान गर्नुभयो ।

तपाईको प्रतिक्रिया