जडीबुटी संकलनबाट एक करोड ७५ लाख राजस्व संकलन

  फागुन १६, २०७७

सिमकोट फागुन १६ : आम्दानीको मुख्य श्रोतका रुपमा रहेको जडीबुटीबाट सरकारलाई हालसम्मकै बढी राजस्व संकलन यसवर्ष भएको छ । जटामसीको नयाँ पञ्चबर्षीय कार्ययोजना बनेर जडिबुटी निकासी सहज भएपछि राजस्व संकलनमा बृद्धि भएको हो ।

जटामसीबाट मात्र यसवर्ष एक करोड पचहत्तर लाख रुपियाँ राजस्व संकलन भएको डिभिजन बन कार्यालयका प्रमुख निरज झाले बताउनुभयो । एक वर्ष अगाडी जटामसी जडीबुटीका लागि पञ्चवर्षीय योजना निर्माण भएपछि यसवर्ष मात्र तीन हजार पाँच सय क्वीन्टल जटामासी संकलन भएर निकासी हुँदा राजस्व संकलन धेरै भएको होे ।

जटामसीको राजस्व प्रतिकेजी पचास रुपियाँ लाग्ने गर्छ । यसवर्ष हालसम्म कै सबैभन्दा जडीबुटी निकासी भएको हुँदा राजस्व संकलनमा उल्लेख्य बृद्धि भएको कार्यालय झाले बताउनुभयो । गतवर्ष दुई हजार क्विन्टल जडिबुटी निकासी हुँदा एक करोड रुपियाँ राजस्व संकलन भएको थियो । त्यसैगरि डिभिजन वन कार्यालयका अनुसार २०७३ सालमा १५ लाख, २०७४ सालमा १७ लाख र २०७५ सालमा १५ लाख राजस्व संकलन भएको थियो ।

त्यसैगरि कुट्की पाँच सय क्वीन्टल, सेताक चिनी पाँच सय क्वीन्टल र सुगन्धवाल दुई सय क्वीन्टल कोटा भएपनि पञ्चवर्षीय योजना नभएको कारण निकासी हुन नसकेको जडीबुटी संघ हुम्लाका अध्यक्ष रामबहादुर भण्डारीले बताउनुभयो । कुट्कीको प्रतिकेजी तीस रुपियाँ, सेतक चिनी र सुगन्धवालको प्रतिकेजी पन्द्र रुपियाँ लाग्ने गरेको छ ।

जडीबुटीको राजस्व सिधै बिभागमा बुझाउनु पर्छ । कुट्की, सेतक चिनी र सुगन्धवालको पञ्चवर्षीय योजना निर्माणको लागि प्रयास भई रहेको प्रमुख झाले जानकारी दिनुभयो । योजना बनेर जडीबुटी निकासी गर्न सके राजस्वदर बृद्धि हुनेछ । जनताको आम्दानीमा पनि बृद्धि हुनेछ ।

तपाईको प्रतिक्रिया