भारतमा एक करोड ४२ लाख भन्दा बढीले खोप लगाए

  फागुन १५, २०७७

नयाँदिल्ली, फागुन १५ : भारतमा गत जनवरी १६ देखि हालसम्म एक करोड ४२ लाख ४२ हजारभन्दा बढी व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायः स्वास्थ्यकर्मीहरु छन् । भारतमा कोरोना भाइरसविरुद्धको दोस्रो चरणको खोप अभियान आगामी मार्चदेखि सुरु हुने भएको छ ।

सरकारी अधिकारीले दिएको जानकारी अनुसार मार्च १ देखि ६० वर्षभन्दा बढी उमेरका व्यक्तिलाई खोप लगाइने भएको छ । त्यसैगरी दीर्घरोगी छन् भने ४५ वर्ष माथिकालाई पनि कोरोना भाइरसविरुद्धको खोप दिइने अधिकारीको भनाइ छ ।

केन्द्रीय मन्त्रिपरिषद्को बैठकपछि पत्रकारसँगको कुराकानीका क्रममा केन्द्रीय मन्त्री प्रकाश जवादेकरले दोस्रो चरणको खोप अभियानका बारेमा गत बुधबार जानकारी दिनुभएको थियो ।
सरकारी स्वास्थ्य संस्थामा खोप लगाउनेलाई निःशुल्क खोप लगाउने व्यवस्था गरिए पनि निजी स्वास्थ्य संस्थामा खोप लगाउनेले भने आफैँले रकम तिर्नुपर्ने व्यवस्था गरिएको उहाँले बताउनुभएको छ ।

भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ११३ जनाको मृत्यु भएको छ । विगत २४ घण्टाको अवधिमा भारतमा १६ हजार ४८८ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ७९ हजार पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ ।

कोरोनाभाइरस शुरु भएयता हालसम्म भारतमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार ९३८ जना पुगेको छ । हाल भारतमा एक लाख ५९ हजारभन्दा बढी सक्रिय सङ्क्रमित छन् भने १ करोड ७ लाख ६३ हजार न्दा बढी कोराना मुक्त भएका छन् ।

यसैबीच, सरकारले देशका विभिन्न भागमा कोभिड–१९ परीक्षणलाई तीव्रता दिने बताएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले शुक्रबारसम्म देशभर २१ करोड ५४ लाख ३५ हजारको हाराहारीमा नमूना परीक्षण गरेको छ । शुक्रबार एकै दिनमा मात्र सात लाख ७३ हजार ९१८ जना व्यक्तिको कोभिड–१९ परीक्षण गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया