जोनसन एण्ड जोनसनको कोभिडविरुद्धको खोपको एक ‘शट’ पर्याप्त

  फागुन १३, २०७७

काठमाडौं, फाल्गुन १३ : अमेरिकी औषधि नियामक निकाय(एफडीए)ले जोनसन एण्ड जोनसनको कोभिड १९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी भएको जनाएको छ । उक्त खोपको एक ‘शट’ नै कोभिड विरुद्ध प्रतिरक्षा उत्पन्न गराउन पर्याप्त हुने जनाइएको छ । यसअघि प्रयोगमा आएको फाइजर, मोर्डना र आष्ट्रा जेनेकाको खोप दुई शट लगाएपछि मात्रै प्रतिरक्षा प्रणाली विकसित हुने गरी तयार गरिएको छ ।

बीबीसीका अनुसार अमेरिकी औषधि नियामक निकायले केही दिनभित्रै जोनसन एण्ड जोनसनको खोप प्रयोगका लागि अनुमति दिने सम्भावना छ । अमेरिकामा कोभिड विरुद्ध प्रयोगका लागि जोनसन एण्ड जोनसनले अनुमति पाउने तेस्रो खोप हुनेछ । फाइजर र मोर्डनाको खोपभन्दा जोनसन एण्ड जोनसनको खोप लागत प्रभावी हुने बताइएको छ । जोनसन एण्ड जोनसनको खोपको ‘ट्रायल’को परिणाम गत महिना मात्रै प्रकाशित भएको थियो ।

बेल्जियन कम्पनी यानसेनले जोनसन एण्ड जोनसनको खोप उत्पादन गर्दैछ । अमेरिका, दक्षिण अफ्रिका र ब्राजिलमा गरिएको परीक्षणमा गम्भीर बिरामीमा ८५ प्रतिशत प्रभावकारी देखिएको तर समग्रमा ६६ प्रतिशत मात्रै प्रभावकारी पाइएको जनाइएको छ । जोनसन एण्ड जोनसनको खोप सामान्य रेफ्रिजेरेटरमा समेत भण्डारण गर्न सकिनेछ ।

उक्त खोप लगाएको २८ दिनपछिसम्म अस्पतालमा भर्ना भएको वा मृत्यु भएको कुनै बिरामी फेला नपरेको उल्लेख गरिएको छ । शुक्रबार अमेरिकी औषधि नियामक निकायले जोनसन एण्ड जोनसनको खोप प्रयोगका लागि अनुमति दिने-नदिने सम्बन्धमा स्वतन्त्र विज्ञहरुले विश्लेषण गर्ने बीबीसीले उल्लेख गरेको छ ।

जोनसन एण्ड जोनसन कम्पनीले विकास गरेको खोपको तीन करोड डोज बेलायतले खदिर गर्ने सम्झौता गरेको छ । यूरोपेली संघले २० करोड डोज, क्यानाडाले तीन करोड ८० लाख डोज र कोभ्याक्स राष्ट्रहरुले पचास करोड डोज खोप खरिद गर्ने सम्झौता गरेको छ । अमेरिकाले मार्च अन्तिमसम्म दुई करोड डोज र जुन अन्त्यसम्म दश करोड डोज खोप उपलब्ध गराउन जोनसन एण्ड जोनसनसँग सम्झौता गरेको छ ।

तपाईको प्रतिक्रिया