एकै परिवारका तीन पुस्ताकाे चित्रकला प्रदर्शनी

  फागुन ०९, २०७७

काठमाडौँ, फागुन ९ : ‘एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसन’ ले चित्रकला बेचेर सामाजिक सेवाका लागि कोष जम्मा गर्ने महत्वकांक्षी जमर्को थालेको छ । फाउण्डेसनले नेपाल कला परिषद्मा चित्रकला प्रदर्शनी सुरु गरेको छ, ‘लिगेसी’ अर्थात् विरासत । विरासत यस अर्थमा कि यो प्रदर्शनीमा एकाघर परिवारका तीन पुस्ता झसेन्द्र विक्रम राणा, सुदर्शन विक्रम राणा, सुनिता राणा र प्रधि राणाका चित्रकला रहेका छन् । फागुन ७ गतेदेखि सुरु भएको प्रदर्शनी फागुन १६ सम्म सञ्चालन हुने जनाइएको छ ।

तीन पुस्ताले बुझेको समाज, जीवन, जगत र प्रकृतिको संयोजन नै प्रदर्शनी ‘लिगेसी’ को विशेषता हो । उही रंग, उही क्यानभास, उही ब्रस, उही माध्यम तर चेतना फरक । समयको भोगाई फरक । प्रस्तुतिका बिम्ब फरक । शैली फरक । परिभाषा फरक । विषय एउटै भए पनि फरक पुस्ताको भोगाई, अनुभूति र अभिव्यक्तिमा पाइने पृथक स्वादलाई प्रदर्शनीमा मज्जाले संगाल्न पाइन्छ ।
प्रदर्शनीमा क्यान्सर रोगबाट मुक्ति पाएका बालकलाकारका १२ वटा कलाकार्य समेत राखिएको छ, जसको बिक्री मूल्य प्रतिवटा १० हजार रहेको छ । सो बिक्रीबाट प्राप्त आधा रकम नेपाल क्यान्सर सपोर्ट ग्रुप र आधा कलाकारलाई दिइने जनाइएको छ ।

नेपाली कला सङ्कलकसमेत रहनुभएका फाण्डेशनका प्रकाश श्रेष्ठका अनुसार, फाउण्डेसनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा बर्षेनी सहयोग गर्दै आइरहेको छ । प्रदर्शनीको प्रमुख उद्देश्य हो, कलाको सम्मान, कलाको प्रवद्र्धन, कलाकारलाई आर्थिक उत्प्रेरणा र त्यसबाट सङ्कलित रकमबाट सामाजिक सेवा । एमबी श्रेष्ठ मेमोरियल फाउण्डेसनले पाँच वर्षदेखि सामाजिक क्षेत्रमा काम गर्दै आइरहेको छ ।

शिक्षा, स्वास्थ्य र सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको फाउण्डेसनले चित्रकला बिक्रीबाट प्राप्त रकमले सामाजिक कार्यमा लगाउने योजना बनाएको छ । प्रदर्शनीमा सहभागी बरिष्ठ कलाकार सुनिता राणाले भन्नुभयो, “सामाजिक क्षेत्रमा यो नयाँ एउटा अभियान हो, जसले कला क्षेत्रलाई पनि सहयोग पुर्याउँछ । सामाजिक सेवाको उद्देश्य समेत पुरा हुन्छ ।

तपाईको प्रतिक्रिया