बैतडी हत्या प्रकरण : परिचितबाटै हत्याको आशंका

  माघ २५, २०७७

काठमाडौँ, माघ २५ : भागरथी भट्टको हत्या परिचित व्यक्तिबाटै भएको आशंका अनुसन्धानमा संलग्न अधिकारीहरूले गरेका छन् । घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परेकाले अपराधीको नजिक पुगिसकेको उनीहरूको भनाइ छ ।

घटना बुधबार अपराह्न ३ बजेतिर भएको प्रहरीको अनुमान छ । घटना अनुसन्धान गर्न एसएसपी जनक पाण्डेको नेतृत्वमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), जिल्ला प्रहरी कार्यालय बैतडी र इलाका प्रहरी कार्यालय पाटनको टोलीलाई एकीकृत रूपमा परिचालन गरिएको छ । सीआईबीबाट निर्मला पन्तको बलात्कार र हत्या प्रकरणको अनुसन्धानका लागि कञ्चनपुरमा रहेका डीएसपी पञ्चकुमार बाखुको टोलीलाई नै भागरथीको मृत्युको छानबिनमा पनि खटाइएको छ।

भागरथीको शवसँगै भेटिएको मोबाइल र त्यसको कल डिटेलबारे अनुसन्धान गर्न विशेष टोली खटिएको छ । प्रहरीले केही युवामाथि शंका गरेको छ । भागरथी अध्ययनरत विद्यालयका शिक्षक, नजिकका साथी, गाउँका मानिससँग उनको आनीबानीबारे सोधपुछ गरिरहेको छ । सोधपुछको दायरामा नआएका तर शंकामा परेकामाथि सूक्ष्म निगरानी गरिएको प्रहरीले जनाएको छ । प्रहरी स्रोतका अनुसार बुधबार भागरथीलाई मोबाइलमा केही कल आएको थियो तर उनले रिसिभ/कलब्याक गरेकी थिइनन् । विद्यालयबाट निस्कँदा चार जना सँगै थिए तर घरमा आमा एक्लै रहेको भन्दै भागरथी छिट्टै घर पुग्ने गरी साथीहरूबाट छुटेर हिँडेकी थिइन् ।

घटनास्थलबाट मोबाइलसहित अनुसन्धानका थुप्रै ‘क्लु’ फेला परे पनि प्रहरीले यसबारे केही खोलेको छैन । ‘अपराध गर्ने व्यक्तिको नजिक पुगिसकेका छौं । पोस्टमार्टम रिपोर्ट, भजाइनल स्वाब र शरीरका नीलडामको प्रमाणबाट शंका गरिएका मानिससँग भिडाउन बाँकी छ,’अनुसन्धानमा संलग्न एक प्रहरीले भने । धनगढीबाट ल्याइएको कुकुरले पानी परेकाले सामान्य अवस्था जस्तो विस्तृतमा संकेत नदिए पनि अपराधको ‘लोकेसन’ पहिल्याएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ ।

‘घटनास्थलमा भेटिएको मोबाइलको कल डिटेल र त्यसमा केन्द्रित प्राविधिक अनुसन्धानको पाटो खुलाउने क्रममा छौं,’ स्रोतले भन्यो, ‘टेक्निकल, म्यानुअल र बाहिरी निगरानीमा अनुसन्धान गर्न टोलीलाई छुट्टाछुट्टै खटाइएको छ ।’ जिल्ला अस्पताल बैतडीले शनिबार दिउँसो भजाइनल स्वाब संकलन गरेपछि पोस्टमार्टम गरेको छ । भजाइनल स्वाब निकालेर परीक्षणका लागि प्रयोगशालामा पठाइएको छ । परिवारले आइतबार शव बुझ्ने जानकारी दिएको सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी मुकेश सिंहले जानकारी दिए ।

‘अनुसन्धानमा कुनै पनि कमीकमजोरी नहोस् भन्नका लागि हामी ज्यादै संवेदनशील छौं । अपराधका क्लु भेटिएका छन्, अनुसन्धानमा भएकाले अहिले खुलाउन मिल्दैन,’ उनले कान्तिपुरसँग भने, ‘अपराधीलाई जसरी पनि कारबाहीको दायरामा ल्याइनेछ ।’ जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले शवका नीलडाम र चोटबाट पासविक तवरले ज्यान लिएको देखिने बताए । ‘मृत्यु के कारणले भयो भन्नेबारे आइतबारसम्म रिपोर्ट दिन्छौं, बाँकी विषय त्यही रिपोर्टमा खुलाएर प्रहरीमा पठाउँछौं,’उनले भने ।

कञ्चनपुरकी किशोरी निर्मला पन्तको २०७५ साउन १० मा भएको बलात्कार/हत्या घटनाको अनुसन्धानमा हेलचेक्य्राइँ गरेको आरोप प्रहरी र प्रशासनमाथि लागेको थियो । त्यस्तो कमजोरी हुन नदिन यो घटनामा बैतडी प्रशासन, अस्पताल र सरकारी वकिल कार्यालयका प्रमुख नै घटनास्थल पुगेर अनुसन्धानमा संवेदनशील बनेको सन्देश दिन खोजेका इकान्तिपुर अनलाइनको सम्पादकीयमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया