आठ सय कृषकलाई सहुलियतपूर्ण कर्जा

  माघ १६, २०७७

हेटौँडा, माघ १६ : कृषि र पशुपालनमा अग्रणी रहेको मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा किसान क्रेडिट कार्डमार्फत कर्जा उपलब्ध गराइने भएको छ । वित्तीय पहुँच नपुगेका साना किसानलाई लक्षित गरी किसान क्रेडिट कार्डमार्फत सरल रूपमा बिना धितो कृषि कर्जा उपलब्ध गराइने भएको हो ।

आर एन्ड डी इन्नोभेटिभ सोलुसन प्रालि काठमाडौँसँगको सहकार्यमा पहिलो चरणमा मेगा बैङ्क र सहकारी संस्थाहरूमार्फत सहज तरिकाले कृषि कर्जा कृषकलाई प्रदान गर्न पालिकाले प्रक्रिया सुरु गरेको जनाएको छ ।

मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले नेपाल सरकारले प्रवाह गरिरहेको सहुलियत कृषि कर्जा किसान क्रेडिट कार्डमार्फत कृषकलाई उपलब्ध गराउन कार्यान्वयनको अन्तिमचरणमा रहेको जानकारी दिनुभयो ।

दूध उत्पादक कृषकको दुग्ध उत्पादक सहकारीमार्फत र तरकारी तथा बाख्रापालक कृषकको तरकारी कृषि सहकारीमार्फत समूह निर्माण गर्ने कार्य भइरहेको बताउँदै उहाँले एउटा समूहमा १० जना कृषक रहने बताउनुभयो ।

गाउँपालिकामा किसान क्रेडिट कार्डमार्फत कर्जा लिन इच्छुक १५ वटा समूह सहकारी संस्थाहरूबाट निर्माण भइसकेको छ । कृषकले क्रेडिट कार्डमार्फत २५ हजार रुपियाँदेखि दुई लाख रुपियाँसम्म सहुलियत पूर्ण व्याजमा कर्जा प्राप्त गर्ने प्रावधान रहेको छ ।

सरकारले कर्जाको व्याजमा महिला कृषकलाई छ प्रतिशत र पुरुष कृषकलाई पाँच प्रतिशतसम्म अनुदान दिँदै आएको छ । क्रेडिट कार्डमार्फत समूहमा आबद्ध भएर कृषि कर्जा लिने कृषकको व्यक्तिगत विवरण भर्ने र स्थायी लेखा नम्बर लिने काम पूरा भएपछि कर्जाका लागि सहकारीले गाउँपालिकालाई सिफारिस गर्ने छ ।

सिफारिसमा परेकालाई पुनः गाउँपालिका र आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालिले छनोट गरेर बैङ्कलाई सिफारिस गरेपछि ऋणी, सहकारी संस्था, गाउँपालिका, कम्पनी र बैङ्कको संयुक्त सम्झौतामा कर्जा प्रवाह गरिने छ ।

गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंले प्रत्येक वडाका सय जना कृषकका दरले आठ वडाका आठ सय जना कृषकलाई किसान क्रेडिट कार्डमार्फत कर्जा उपलब्ध गराउने योजना रहेको सुनाउनुभयो ।

तपाईको प्रतिक्रिया