सशस्त्रको अस्पतालमा ‘सडक मानवलाई निःशुल्क’

  माघ १०, २०७७

काठमाडौं, माघ १० : अघिल्लो वर्ष काठमाडौँको सडकबाट उद्धार गरिएकी शोभा मानवलाई झण्डै निको बनाउन रु डेढ लाख खर्च खर्च भयो । खर्चाभावमा उहाँको उपचारमा निकै धौधौ भयोे । हेपाटाइटिस र क्षयरोगी तथा मनोरोगी उहाँको अझै पनि नियमित स्वास्थ्य परीक्षण चलिरहेकै छ ।

केही अघि चरम यातना पाएर सडकमा भेटिएकी एक महिलाको ठुलो खर्च गरेर उपचार गरिए पनि मानवसेवा आश्रमले बचाउन सकेन । अझ कोभिड–¬१९ सङ्क्रमणको समयमा दाता न्यून हुँदा आश्रित बेसहाराको औषधोपचारमा परेको समस्या त्यहाँका अभियानकर्मीमा तितो यथार्थ बनेर गढेको छ ।

सहयोगी हातको कमी भइरहेको वर्तमान सन्दर्भमा औषधोपचारमा समस्या कायमै रहँदा सशस्त्र प्रहरी बल नेपालबाट आएको एउटा सन्देशले आश्रम परिवारमा खुसीको बहार छाएको छ । आश्रित बेसहाराको सशस्त्र प्रहरीले निःशुल्क उपचार गर्ने घोषणा गरेपछि आश्रमका प्रवक्ता सुमन बर्ताैला उक्त निर्णयलाई सडक मानवमुक्त मुलुक बनाउने अभियानको महत्वपूर्ण कडीका रुपमा लिएको स्मरण गर्नुहुन्छ ।

सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले २०औँ सशस्त्र प्रहरी दिवसका अबसरमा शुक्रबार बेसहारालाई निशुल्क उपचारको घोषणा गर्नुभएको छ । “अबदेखि मानवसेवा आश्रममार्फत खाना, छाना र नाना प्राप्त गरिरहेका सबैलाई सशस्त्र प्रहरी बल, नेपालद्वारा सञ्चालित नेपाल एपिएफ अस्पताल बलम्बुमा उपलब्ध सम्पूर्ण स्वास्थ्य सेवा निःशूल्क प्रदान गरिनेछ”, प्रधानमन्त्री केपी शर्मा ओली समक्ष उहाँले भन्नुभयो ।

यसअघि नै नेपाल सरकारले ‘कोही नेपाली असहाय हुन नपरोस, उपचारबाट वञ्चिन हुन नपरोस’ भनेर आवश्यक काम गर्दै आएको छ । मानवसेवा आश्रमसँग सहकार्य गर्दै विसं २०७८ भित्रमा बेसहारा सडक मानवमुक्त देश बनाउने सरकारको योजना रहेको सन्दर्भ कोट्याउँदै सशस्त्र प्रहरी महानिरीक्षक खनालले जनताको सेवा, सुरक्षा, सहयोग र उद्वार गर्ने कार्यअन्तरगत उक्त घोषणा गरिएको स्पष्ट पार्नुभयो । दिवसकै अवसरमा सशस्त्र प्रहरी परिवार महिला सङ्घका तर्फबाट उहाँले आश्रित व्यक्तिलाई व्ल्याङ्केट, चामल, तेल, गेडागुडीसमेत उपलब्ध गराउनुभएको छ । सशस्त्र प्रहरी अस्पतालमा सबै सेवा प्राप्त नभए पनि उपलब्ध सेवा लिन पाउँदा ठुलो राहत हुने आश्रमको विश्वास छ ।

यहाँ आश्रित मानिस शरीरमा किरा परेको र घाउ गन्हाइरहेको अवस्थामा भेटिएका थिए । किड्नी, कलेजो, मुटुमा गम्भिर समस्या परेकाको पनि उद्धार गरिएको थियो । प्रायःमनोरोगी भएकाको शारीरिक र मानसिक अवस्थामा कमजोर छ । केही गाडीले हानेर असक्त भएका र घाउ बल्झिएर समस्या बढ्दै गएका समेत छन् । क्यान्सर रोगले थलिएका पनि बेलाबेलामा भेटिँदै आएका छन् । कतिपय दीर्घरोगी र आजीवन औषधि सेवन गर्नुपर्ने रहेकाले उनीहरुका लागि औषधोपचार महत्वपूर्ण अभिभारा हो भन्नुहुन्छ, आश्रम अध्यक्ष रामजी अधिकारी । औषधिमा केही स्वास्थ्य संस्थाले सहयोग गर्ने गरे पनि पर्याप्त नहुँदा अधिकांश औषधि खरिद गर्नुपर्ने बाध्यता रहेको उहाँले सुनाउनुभयो ।

अहिले यसरी सडकबाट उद्धार गरिएका झण्डै एक हजार ७०० लाई देशभरीका २२ सेवा केन्द्रमा राखिएको छ । उनीहरुलाई दैनिक कुनै न कुनै औषधि खुवाउनुपर्छ । उपचारमा झण्डै रु २० देखि २५ लाख मासिक खर्च हुने गरेको जनाइएको छ । आर्थिक अभावले उनीहरुको पूर्ण शरीर परीक्षण गराउन सकिएको छैन । आश्रमलाई सबैभन्दा समस्या औषधोपचार कै रहेको अभियानकर्मी शुशीला केसी सुनाउनुहुन्छ ।

अन्तिम अवस्थामा पुगेकाको भने लाखौँ खर्च भइसक्दा पनि निको नहुने अवस्था देखिँदै आएको छ । काठमाडौँको आश्रममा मात्रै मासिक झण्डै रु दुई÷तीन लाख औषधोपचारमा लाग्ने गरेको जनाइएको छ । पैसाकै अभावमा पूर्ण शरीर परीक्षण गर्न नसकिएको जनाइएको छ ।

सडकमा भेटिएका बेसहारा, असहाय व्यक्ति जो मागेरसमेत खान नसक्नेलाई विशेष सङ्कल्प गरेरै विसं २०६९ सालदेखि आश्रमले उद्धार गरेर संरक्षण दिने र परिवारमा मिलाउने काम गर्दै आएको छ । शुरुवाती चरणमा भन्दा केही सकारात्मक देखिए पनि सडकमा आश्रित मानिसप्रति समाजको हेर्ने दृष्टिकोणमा अझै पनि आशातित परिवर्तन हुन नसकेको अभियानकर्मी बताउँछन् ।

तपाईको प्रतिक्रिया