केटुको शिखरमा नेपाली टोली : १० नेपालीद्वारा हिउँदमा आरोहणको कीर्तिमान

  माघ ०३, २०७७

काठमाडौँ, माघ ३ : नेपालका १० जना पर्वतारोहीले शनिबार पाकिस्तानस्थित विश्वकै दोस्रो अग्लो चुचुरो केटु हिमालको आरोहण गरी इतिहास रचेका छन् ।

चीन र पाकिस्तानको सीमामा पर्ने सबैभन्दा कठिन मानिने विश्वकै दोस्रो अग्लो हिमाल केटू (८,६११ मिटर) मा मानव पाइला पुगेको ६७ वर्षयता हिउँदयाममा सयौं आरोहण दलले प्रयास गर्दा पनि कोही सफल भएको थिएन । तर यसपटक पुर्जासहित १० नेपाली आरोहीले हिउँदयाममा अत्याधिक कठिन मानिने सगरमाथापछिको दोस्रो अग्लो चुचुरोमा पुगेर रेकर्ड बनाएका छन् ।

काठमाडौंस्थित सेभेन समिट ट्रेक्स प्रालिका अनुसार, शनिबार नेपाली समय अनुसार सवा ४ बजे नेपाली आरोहीहरुको टोली चुचुरोमा पुगेको हो । सफल आरोहण गर्नेमा पुर्जासहित मिङ्मा डेबिट शेर्पा, मिङ्मा तेन्जी शेर्पा, ग्याल्जेन शेर्पा, पेम चिरी शेर्पा, दावा तेम्बा शेर्पा, दावा तेन्जी शेर्पा, किलु पेम्बा शेर्पा र सोना शेर्पा छन् ।

केटू हिमाल आरोहणको नेतृत्व गरिरहेका आरोही निर्मल पूर्जाले भनेका छन्, ‘असम्भवलाई सम्भव बनाइयो,’ प्रख्यात आरोही पुर्जाले आफ्नो इन्स्टाग्राममा लेखेका छन्, ‘मानव जातिका लागि इतिहास बनाइयो । नेपालका लागि इतिहास बन्यो ।’यो टोलीले पाकिस्तानी समयअनुसार शनिबार ४ बजेर ५८ मिनेटमा निर्मल केटू हिमाल आरोहण गरेको कम्पनीका प्रबन्धक थानेश्वर गुरागाईंले कान्तिपुरसँग भने ।

यो हिमाल आरोहणका लागि म्याग्दीका पुर्जासहित १० नेपाली करिब महिनाअघि काठमाडौंबाट पाकिस्तान पुगेका थिए । पुर्जाका अनुसार, नेपाली टोलीले चुचुरोमा १० मिनेट समय बिताएको थियो । उनले यसलाई विशेष पल भन्दै त्यहाँ नेपालको राष्ट्रिय गीत गाएको इन्स्टामा लेखेका छन् । उनले सामूहिकता तथा सकारात्मक सोचका कारण यो सफलता हात लागेको लेखेका छन् ।

गत आइतबार तीव्रगतिको हावाले ६६ सय मिटरमा राखिएको दोस्रो शिविर उडाइदिएपछि र्कितिमानी आरोही पूर्जासहित नेपाली आरोहण दल ४६ सय मिटरमा रहेको केटू हिमालको आधार शिविरमा फर्किएका थिए ।

यो दोस्रो प्रयासमा उनीहरु आरोहण गर्न सफल भएका हुन् । यसअघि वसन्तकालीन याममा यो हिमाल आरोहण गरिसकेका पुर्जाले मंगलबार मौसममा सुधार आएमा अलि ठूलो भारीका साथ ७ हजार ९ सय ५० मिटर उचाईमा रहेको चौथो शिविरसम्म बाटो बनाउँदै जाने योजना रहेको उल्लेख गरेका थिए । बिहीबारदेखि प्रयास गरिरहेका उनीहरु शनिबार मात्रै चुचुरोमा पुग्न सफल भएका हुन् ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकास्थित दानामा जन्मेका ३७ वर्षीय पुर्जाले गत वर्ष ७ महिनाको अवधिमा सगरमाथासहित विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेर विश्व र्कितिमानी कायम गरेका थिए । उनले अघिल्लो वैशाखमा अन्नपूर्ण गाउँपालिकमै पर्ने नारच्याङमा पर्ने अन्नपूर्ण हिमाल आरोहण गर्दै आफ्नो प्रोजेक्ट पोसिबल अभियान थालेका थिए । ०७६ कात्तिकमा उनले तिब्बतको सिसापाङमा हिमाल आरोहण गर्दै ७ महिनामा ८ हजार अग्ला विश्वका १४ वटा अग्ला चुचुरो आरोहण गरेका थिए ।

उनी यसअघि बेलायती सरकारको स्पेसल फोर्समा कार्यरत थिए । मासिक १४ लाख हाराहारी पारिश्रमिक भएको सैनिक जागिर छाडेर उनी गत वर्षदेखि आरोहणमा लागेका इकान्तिपुर अनलाइनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया