काठमाडौँ–ढाका बस तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने

  माघ ०२, २०७७

काठमाडौं, माघ २ : बङ्गलादेशका लागि नेपाली राजदूत डा वंशीधर मिश्रले दुई देशबीच कूटनीतिक, जनताजनताबीचको सम्बन्ध, शिक्षा, स्वास्थ्य, व्यापार, यातायात(हवाई सडक) सम्बन्ध बढाउने काम भइरहेको बताउनुभएको छ । नेपाल बङ्गलादेश मैत्री सङ्घको आयोजनामा नेपाल बङ्गलादेश सम्बन्ध र व्यापार विषयमा भएको भर्चुअल मिटिङमा उहाँले काठमाडौँ– ढाका बस सेवा तथा विराटनगर–बङ्गलादेश हवाई सेवा चाँडै शुरु गरिने जानकारी दिनुभयो ।

बङ्गलादेशका प्रा शेख महमुन्द एलोनले शिक्षा र स्वास्थ्यको विकासमा दुवै देश मिलेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । डा जहरुल इस्लामले नेपाली विद्यार्थी मेहनती र इमान्दार रहेको जनाउँदै शिक्षा र स्वास्थ्य क्षेत्रमा नेपाललाई लगानी बढाउन सुझाव दिनुभयो । प्रा डा अब्दुस सत्तरले दुई देशले भारतसँगको पनि सम्बन्ध अघि बढाएमा यातायात, कृषि, ढुवानी, वातावरणलगायत विषयमा सहज हुने विश्वास व्यक्त गर्नुभयो । डा इफ्तेखारुल हकले दुवै देशबीचको सम्बन्ध विकास व्यावहारिक रुपमा हुनुपर्ने बताउनुभयो । डा के शेल्लीले महिला अधिकार र गरीबी उन्मूलनमा दुवै देशले सहकार्य गर्नुपर्नेमा जोड दिनुभयो ।

मैत्री सङ्घका अध्यक्ष दीनदया रिजाल र सङ्घका बङ्गलादेश च्याप्टरका संयोजक इम्दादुल तैय्यव हकले सरकार, कूटनीतिक र जनता जनताबीचको सम्बन्ध, पर्यटन अभिवृद्धि तथा साहित्य, कला र संस्कृतिको विकासमा दुवै देशबीच आदानप्रदान गर्नुपर्ने सुझाव दिनुभयो । सङ्घका सल्लाहकार धर्मराज बरालले एकार्काले आआफ्ना धर्म, कला र संस्कृतिको सम्मान गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । बिहीबार साँझ भएको बैठकमा साहित्यकार तथा समाजसेवी भक्तराज रञ्जितले साहित्य एवं कलाको आदानप्रदान गर्दै दुवै देशका जनता जागृत भई लाग्नुपर्ने धारणा राख्नुभयो ।

तपाईको प्रतिक्रिया