वाग्मतीका प्रत्येक वडामा योग पूर्वाधार बनाइने

  माघ ०१, २०७७

काठमाडौं, माघ १ : वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेशका सबै स्थानीय तहका वडाहरुमा योगका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण अघि बढाइएको बताउनुभएको छ ।

छैटौँ राष्ट्रिय योग दिवसका अवसरमा राजधानींको उत्तरपूर्वी भेगस्थित शङ्खरापुर नगरपालिकाले आज साँखुमा आयोजना गरेको कार्यक्रममा उहाँले योगलाई विश्व संस्कृतिको रुपमा अघि बढाउनुपर्ने बताउनुभयो । “विश्वमा सुख, शान्ति, खुशी र समृद्धि प्राप्त हुने विज्ञान वा दर्शन भनेकै योग भएकाले यसलाई जनस्तरसम्म पु¥याउन सरकारले पहल गरिहेको छ”, मन्त्री फुयाँलले भन्नुभयो । वाग्मतीलाई हरित प्रदेश बनाउने अभियानअन्तर्गत प्रत्येक घरमा कम्तीमा दुई वटा रुख रोप्ने अभियानलाई संस्कृतिको रुपमा विकास गरिने उहाँले जानकारी दिनुभयो ।

शङ्खरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठले भौतिक विकाससँगै मानवमा आत्म विकासका लागि योग आवश्यक रहेको बताउनुभयो । नगरपालिका भित्रका सबै सामुदायिक विद्यालयका कम्तीमा एक जना शिक्षकलाई योग प्रशिक्षण दिलाउन कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडाले स्थानीय पाठ्यक्रममा योगलाई समावेश गरेर विद्यालय तहमा पठन पाठन शुरु गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा इलाका प्रशासन कार्यालय साँखुका प्रमुख मुरारी वस्ती, नगरपालिका शिक्षा शाखा प्रमुख बोधराज निरौलाले शङ्खरापुरमा कार्यक्रम गर्नका लागि आवश्यक मात्रामा ठूला हल निर्माण भइसकेकाले सामूहिकरुपमा दैनिक योग अभ्यासलाई अघि बढाइने प्रतिबद्धता जनाउनुभयो । कार्यक्रममा पतञ्जलि योग समिति नेपालका रामप्रसाद सञ्जेल, जीवन विज्ञानका मेनुका ढकाललगायतले योग अभ्यास गराउनु भएको थियो । सात दिनसम्म सञ्चालन हुने विशेष योग शिविरमा योगका विभिन्न क्षेत्रका गुरुहरुले प्रशिक्षण दिनुहुने नगरपालिकाले जनाएको छ ।

योग दिवसमा निःशुल्क गुर्जोको औषधि एवं चिया
यसैबीच राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज प्रधानमन्त्री निवास बालुवाटारमा आयोजना गरेको कार्यक्रममा गुर्जो अभियानकर्मी एवं आन्तरिक राजश्व कार्यालय धुलिखेलका प्रमुख कर अधिकृत कमलबहादुर राजलवटले गुर्जोको चियाका प्याकेट निःशुल्क वितरण गर्नुभएको छ ।

कार्यक्रममा सहभागीलाई गुर्जोबाट बनेको धुलो औषधि र चिया गरी ६०० प्याकेट निःशुल्क वितरण गरिएको हो । कोरोना महामारी बढ्न थालेपछि अभियानकर्मी राजलवटले निःशुल्क रुपमा गुर्जोको बिरुवा, गुर्जोबाट बनेको औषधि र चिया देशव्यापी रुपमा निःशुल्क वितरण गरिरहनुभएको छ ।

हालसम्म एक लाख ५० हजारभन्दा बढी गुर्जोका बिरुवा घर एवं सार्वजनिक स्थलमा रोप्न निःशुल्क वितरण गरिएको छ । कार्यक्रमा उपस्थित सबैलाई तयारी गुर्जोको चियासमेत खुवाइएको उहाँले जानकारी दिनुभयो । मानव शरीरमा रोग प्रतिरोधी क्षमता बढाउन गुर्जोको धुलो र यसबाट बनेको चियाले सहयोग गर्ने आयुर्वेदका चिकित्सक डा शेषराज आचार्य बताउनुहुन्छ । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि भएपछि कोरोना सङ्क्रमण सर्ने सम्भावना कम रहने जनाइएको छ ।

तपाईको प्रतिक्रिया