सबैसित सहकार्य गर्दै खेलकूदका समस्या समाधान गर्छु : खेलकूदमन्त्री

  पुष २८, २०७७

काठमाडौं, पुस २८ : युवा तथा खेलकूदमन्त्री दावा तामाङले खेलकूदमा रहेका समस्या सबैसित सहकार्य गर्दै समाधान गर्ने बताउनुभएको छ । राष्ट्रिय खेलकूद परिषद् (राखेप) द्वारा आज त्रिपुरेश्वरस्थित कार्यालयमा मन्त्री तामाङको स्वागत कार्यक्रममा उहाँले सहकार्य गरेर नै चुनौतीको सामना गर्ने बताउनुभयो ।

खेलकूदका समस्या सरोकारवालासँग सहकार्य गर्दै समाधान गर्ने उहाँको भनाइ थियो । समयस्याबारे चाँडै नै सबैसित छलफल गर्ने मन्त्री तामाङले उल्लेख गर्नुभयो । खेलकूद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले राम्रो कार्यविधि बनाएर काम गर्नुपर्नेमा जोड दिनुभयो ।

राखेपका उपाध्यक्ष शिव कोइरालाले मन्त्री तामाङको कार्यकालमा खेलाडीको हकहितका लागि अझ धेरै काम हुने विश्वास व्यक्त गर्नुभयो । राखेप सदस्य–सचिव रमेशकुमार सिलवालले नयाँ ऐनअनुसार कर्मचारी समायोजन गर्नु र लामो समयदेखि रोकिएको कर्मचारीको बढुवा गर्नुपर्ने, चालु आर्थिक वर्षमा खेलकूदका लागि विनियोजित बजेट थोरै भएकाले त्यसमा आगामी आवमा वृद्धि गर्नका लागि पहल गरिदिन आग्रह गर्नुभयो । स्वागत कार्यक्रमपछि मन्त्री तामाङले त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालाको निरीक्षणसमेत गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया