‘एउटा यस्तो प्रेम कहानी’ प्रदर्शन हुँदै

  पुष २८, २०७७

काठमाडौँ, पुस २८ : विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ पछि पहिलोपटक नयाँ नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । झण्डै चार दशक नेपाली चलचित्र क्षेत्रमा नायकको भूमिकामा रहनुभएका शिव श्रेष्ठको निर्माता रहेको ‘एउटा यस्तो प्रेम कहानी’ चलचित्र आगामी माघ १ गतेदेखि प्रदर्शन हुन लागेको हो ।

कोभिड–१९ का कारण १० महिनादेखि बन्द रहेको चलचित्र हललाई पुस २६ गते सरकारले खोल्ने अनुमति दिएसँगै श्रेष्ठ निर्माता रहेको चलचित्र प्रदर्शन गर्न लागिएको हो । निर्माता श्रेष्ठले कोभिडका समयमा बन्द रहेका हल सञ्चालनको टुङ्गो नलागेको अवस्थामा ठूलो जोखिम मोलेर चलचित्र प्रदर्शनमा ल्याउन लागेको जानकारी दिनुभयो ।

 “कोभिड–१९ को त्रासमा रहेका जनतालाई मनोरञ्जन दिने उद्देश्यले चलचित्र प्रदर्शन गर्न लागेका हौँ”, उहाँले भन्नुभयो । दर्शकको आशालाई निराशामा बदल्न नदिनका लागि चलचित्र प्रदर्शनमा ल्याउन लागेको उहाँको भनाइ छ । सरकारले चलचित्र हल खोल्ने वातावरण मिलाइदिएको भन्दै उहाँले सरकारलाई धन्यवादसमेत दिनुभयो ।

नेपाल चलचित्र निर्माता सङ्घका अध्यक्ष आकाश अधिकारीले सिङ्गो फिल्म क्षेत्रलाई बचाउनका लागि नयाँ फिल्म प्रदर्शन गर्न लागिएको बताउनुभयो । चलचित्र निर्माण तथा सञ्चालनका लागि अपनाइने स्वास्थ्य मापदण्ड चलचित्र निर्माता सङ्घ र नेपाल चलचित्र सङ्घले सरकारलाई बुझाइसकेको उहाँको भनाइ छ ।

अध्यक्ष अधिकारीले लामो समय बन्द रहेको चलचित्र हल खुले पनि फिल्म उद्योगले बन्दाबन्दीको समयमा व्यहोर्नु परेको समस्याका बारेमा सरकारसँग निरन्तर छलफल भइरहेको उल्लेख गर्नुभयो । हाल नेपालभर २५० भन्दा बढी चलचित्र हल सञ्चालन छन् ।

तपाईको प्रतिक्रिया