दलभन्दा राष्ट्रको रक्षाका विषयमा बढी चिन्ता : शर्मा

  पुष २७, २०७७

कर्णाली, पुस २७ : नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका नेता जनार्दन शर्माले दलभन्दा राष्ट्र र संविधानको रक्षाका विषयमा बढी चिन्ता बढेको बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल सुर्खेतद्वारा यहाँ आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा पूर्वमन्त्री शर्माले राष्ट्र नै नरहे पार्टीको औचित्य सकिने बताउनुभयो ।

नेकपामा देखिएको विवाद र फुटले सिङ्गो मुलुक नै समस्यामा रहेको बताउँदै उहाँले नेपाली जनताको लामो समयको त्याग र बलिदानबाट प्राप्त उपलब्धि, राष्ट्रिय स्वाभिमान र स्वाधीनताको रक्षा गर्नु आजको आवश्यकता रहेको औंल्याउनुभयो ।

पार्टी स्थायी कमिटी सदस्य शर्माले नेकपामा आएको विभाजनले मुलुकलाई समाजवादोन्मुख अर्थतन्त्र र समतामूलक समाज निर्माणतर्फ लैजान बोकेको सुन्दर सपना धरापमा परेको बताउनुभयो । कर्णाली प्रदेशमा २४ प्रतिशत दलित जनसङ्ख्या हुँदा पनि सरकारमा एक जना मान्छे नहुनु कमजोरी भएको स्वीकार गर्दै पार्टी कर्णाली प्रदेश इञ्चार्ज शर्माले भावी दिनमा मन्त्रिपरिषद् पुनःगठन गर्दा मिलाएर लगिने बताउनुभयो ।

अब केही समयपछि कर्णाली सरकार पुनःगठन हुने र त्यसमा दलित वर्गलाई समावेश गरेर लैजाने उहाँले विश्वास दिलाउनुभयो । परिवर्तनका पक्षधरसँग नयाँ ढङ्गले नयाँ उचाइको एकता गरिने पनि उहाँको भनाइ थियो ।

तपाईको प्रतिक्रिया