संविधानको गलत टीकाटिप्पणी गर्ने काम भयो : पौडेल

  पुष २५, २०७७

दमौली, पुस २५ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले संविधानको गलत ढङ्गबाट टीकाटिप्पणी गर्ने काम भइरहेको बताउनुभएको छ । कांग्रेस तनहुँ क्षेत्र नम्बर २ (क) ले आज शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारमा आयोजना गरेको विरोधसभामा उहाँले संसद् विघटनपछि संविधानको गलत व्याख्या भइरहेको टिप्पणी गर्नुभयो ।

केन्द्रीय सदस्य पौडेलले नेपालको सङ्घीयता गतिशील ढङ्गले अगाडि बढ्न नसक्नाको कारण नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० को गतिविधि रहेको आरोप लगाउँदै संसद् विघटन गरेर प्रधानमन्त्रीले अस्थिरता निम्त्याएको बताउनुभयो । “नेपाली कांग्रेससँग एक्लै लड्न नसकेर एमाले र माओवादीले निर्वाचनमा मोर्चा बनाएका थिए । त्यो निर्वाचन जित्नका लागि मात्र थियो”, उहाँले भन्नुभयो । कांग्रेसका नेतृत्वमा आएको संविधान रक्षा गर्न कांग्रेस तत्पर रहेको पौडेलले बताउनुभयो ।

संसद् विघटनका विरोधमा कांग्रेस तनहुँले आज चार प्रदेश निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम सम्पन्न गरेको छ । तनहुँ क्षेत्र नं १ (क) को भानु नगरपालिकास्थित बाइसजाँगरमा, (ख) को आँबुखैरेनीमा, तनहुँ क्षेत्र नं २ (क) को खैरेनीटारमा र (ख) को घिरिङमा विरोधसभा सम्पन्न भएको छ ।

तपाईको प्रतिक्रिया