फागुन १५ सम्म कोरोना संक्रमण दर बढ्न सक्छ, सबैले सचेत हुन जरुरी छ

  मंसिर १२, २०७७

काठमाडौँ, मङ्सिर १० : अमेरिका, युरोपका देशहरु, श्रीलंकामा अहिले कोरोनाको सङ्क्रमण दोस्रो चरणमा प्रवेश गरेसँगै कडा खालको लकडाउन, कर्फ्यु तथा निषाेधाज्ञा लगाइएका छन् ।

जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डे फागुनको १५ गतेसम्म नेपालमा समेत सङ्क्रमणको दर बढ्ने भएकाले सरकारी संयन्त्रबाट प्रभावकारी मापदण्ड पालना गराउन र जनताले पनि अनुशासन कायम राख्न आवश्यक रहेको बताउनुहुन्छ ।

नेपाल सरकारले भनेको जस्तै कात्तिक मसान्तसम्ममा सङ्क्रमितको सङ्ख्या एक लाख ८० हजारभन्दा माथि पुग्ने अनुमान मेल खाएको छ । मङ्सिर ८ गतेसम्मको तथ्याङ्क अनुसार दुई लाख २२ हजार २८८ लाई कोरोना सङ्क्रमण भए पनि दुई लाख दुई हजार ६७ जनाले कोरोनालाई जितेका डा. पाण्डे बताउनुहुन्छ ।

मङ्सिरबाट सङ्क्रमितको सङ्ख्या कम जस्तो देखिए पनि परीक्षणको दायरा नबढेकाले कम भएको उहाँको अनुभव छ । सरकारले सरकारी अस्पतालमा परीक्षण गरेको पैसा तिर्नुपर्ने प्रावधान राखेसँगै सङ्क्रमणको लक्षण देखिएकाहरु समेत अस्पताल नजाने र होम आइसोलेशनमा बस्ने प्रचलन बढेको उहाँले बताउनुभयो ।

‘सुरुमा निःशुल्क परीक्षण हटाएको समाचार बाहिर आएसँगै अस्पताल गएर परीक्षण गराउनेको सङ्ख्या घट्यो, यसले सङ्क्रमित हुनेको कुल सङ्ख्यामा समेत असर पार्याे’ डा. पाण्डेले भन्नुभयो । अस्पतालमा गएर बस्नुभन्दा घरमै बस्नु राम्रो भन्ने सन्देश फैलिएकाले अस्पतालसम्म आउनेको सङ्ख्यामा कमी भएको उहाँले बताउनुभयो । यसले अस्पतालमा चाप गराए पनि दीर्घरोगीहरु र श्वासप्रश्वासमा समस्या भएकाहरुले अक्सिजन लेभल घटेपछि मात्रै अस्पताल आउने परिपाटीको विकास भएकाले मृत्यु हुनेको सङ्ख्यामा भने वृद्धि हुन पुगेको उहाँले भन्नुभयो ।

‘मान्छेहरु सिकिस्त भएपछि मात्रै अस्पताल जाने भएकाले आइसीयू र भेन्टिलेटर भरिएको र अस्पतालका सामान्य बेडहरु खाली हुन पुगेको छ ।’ उहाँले भन्नुभयो । लक्षण देखिएका बिरामीहरु समेत रुघाखोकी तथा ज्वरो आएमा त्यसको औषधि खाएर घरमै बस्दा जटिल समस्या भएपछि मात्रै अस्पताल जाने अवस्थाको कारणले मृत्युदर बढ्न सक्ने उहाँले बताउनुभयो ।

‘सङ्क्रमणको लक्षण भएमा तत्कालै पीसीआर गर्ने र चिकित्सकको परामर्शमा घरमै बसेर भए पनि औषधि सेवन गर्दा जोखिम कम हुन्छ’ उहाँले सबैलाई अनुरोध गर्नुभयो । ‘अस्पताल जानुपर्नेभन्दा ढिला गरेर जाने परिपाटीको कारणले मृत्युदर बढेको छ । बचाउन सकिने मान्छेलाई समेत बचाउन सकिएको छैन ।’ उहाँले भन्नुभयो । मङ्सिर, पुस, माघ र फागुनको १५ गतेसम्म सोचेको भन्दा धेरै जोखिम बढ्ने भएकाले सतर्क रहन उहाँले अनुरोध गर्नुभयो ।

परीक्षण बढाउने र एन्टीबडी टेष्ट गर्ने
दिल्लीमा गरिएको एन्टीबडी टेष्टमा २४ प्रतिशत नागरिकमा कोराना देखिएर पनि कुनै औषधि उपचार बिना नै रोग निको भएको तथ्याङ्क सार्वजनिक भएको थियो । नेपालको ठूला सहरहरु तथा भारतसँग सिमाना जोडिएको जिल्लाहरुका नागरिकहरुले समेत त्यस्तै एन्टीबडी गेन गरिसकेको हुनसक्ने भएकाले त्यसको परीक्षण आवश्यक रहेको उहाँले बताउनुभयो ।

वैशाखदेखि भदौसम्ममा फैलिएको सङ्क्रमण पुनः कमी आउनुमा यस्तै एन्टीबडीको कारणले हुनसक्ने भएकाले त्यस्तो टेष्ट गर्न आवश्यक रहेको उहाँले सुझाउनुभयो । ‘हामीले थाहा नै नपाई धेरै गाउँले कोरोना जितेर इम्युन्ड भइसकेको हुन सक्छ ।’ उहाँले भन्नुभयो । त्यसको लागि एन्टीबडी टेष्ट गर्न आवश्यक हुने डा. पाण्डेको सुझाव छ ।

व्यापक मात्रामा परीक्षण बढाउने र त्यसको आधारमा क्वारेन्टाइन र आइसोलेसनमा राखेर उपचार गराउने पद्धति प्रभावकारी हुनसक्ने उहाँले बताउनुभयो । सरकारले सुरक्षा निकायलाई प्रभावकारी रुपमा परिचालन गरेर मास्क नलगाउनेलाई हदैसम्मको कारबाही गर्न सक्ने वातावरण मिलाउन सके पनि सङ्क्रमणको जोखिम कम हुने उहाँको भनाइ छ । यसका लागि सरकार मात्रै संवेदनशील बन्ने नभई जनता पनि अनुशासित बन्न आवश्यक रहेको उहाँले भन्नुभयो ।

तपाईको प्रतिक्रिया