तातोपानी नाकासम्म चिनियाँ कन्टेनर, बुधबार तीन कन्टेनर नेपालमा

  मंसिर १०, २०७७

चौतारा, मंसिर १० : नेपाल–चीनबीचको प्रमुख व्यापारिक नाका तातोपानीको मितेरी पुलसम्म चिनियाँ पक्षले सामाग्री ल्याउन सुरु गरेको छ । बुधबार पहिलो पटक चिनियाँ कन्टेनरले नेपाली भूमिसम्म सामाग्री ल्याएको हो । बुधबार तीनवटा चिनियाँ कन्टेनरले नेपालसम्म सामाग्री ल्याएका छन् ।

‘चिनिया कन्टेनरको डिब्बा मितेरी पुलमा नेपाली कन्टेनरमा लोड गरी सुख्खा वन्दरगाह सम्म ल्याउने ब्यवस्था गरिएको छ’, भन्सार कार्यालयका प्रमुख लालबहादुर खत्रीले भन्नुभयो, ‘पटक पटकको अनेकन अवरोधपछि कात्तिक १३ बाट पुनः सुचारु भएको तातोपानी भन्सार कार्यालयबाट यस अघि थौरै मात्रामा मात्र सामान आयात भएको भन्दै व्यापारीहरुले गुनासो गर्दै आएकाले यसको समाधानार्थ यो प्रक्रिया सुरु भएको हो ।’

नाका सञ्चालनको विषयमा नेपाल–चीनबीचको छलफलमा चीन पक्षले कोरोना संक्रमणबाट जोगिन स्वास्थ्य सुरक्षा सावधानी बारे पटक पटक चासो व्यक्त गरेको भन्सार कार्यालयका प्रमुख खत्रीले बताउनुभयो । गत असोजमा केही कर्मचारीमा कोरोना देखिएपछि चीन पक्षले एक दिन सामाग्री पठाएर नाका पुनः ठप्प बनाएको थियो ।

‘चिनियाँ कन्टेनरले सामाग्री ल्याईदिने हुँदा अब नेपाली व्यापारीका सामाग्री आउने आशा गर्न सकिन्छ’, भन्सार प्रमुख खत्रीले भन्नुभयो, ‘तातोपानी नाका पछिल्लो पटक असोज १९ गते सञ्चालनमा आएको थियो । तर सामान आयात गर्ने केही कर्मचारीमा कोरोना संक्रमण देखिएपछि एक दिन सञ्चालन पश्चात् बन्द रहेको नाका गत महिनाबाट सुचारु भए पनि सामाग्री आयात भएको थिएन ।’

जुरे पहिरो र विनाशकारी भूकम्पपछि ठप्प रहेको नाका केही महिना सञ्चालन पश्चात् गत माघमा बन्द भएको थियो । चीनको बुहान प्रान्तमा कोरोना संक्रमण फैलिएको भन्दै चीनले सामाग्री निर्यात रोकेपछि गत माघ बाट चैत्र २६ सम्म बन्द रहेको नाका चैत्र २७ बाट पुनः सुचारु भएको थियो ।

वर्षाद सुरु भएयता भोटेकोशी नदीमा आएको बाढीले अरनिको राजमार्ग क्षतिग्रस्त भएपछि बन्द रहेको नाका असोज महिनामा एक दिन र कात्तिक १३ पश्चात् सुचारु रहेको भन्सार कार्यालयले जनाएको छ । ‘चिनियाँ पक्षले नेपालसम्म सामाग्री ल्याइदिने र स्वस्थ्य मापदण्ड पालना गरी सामाग्री जाँचपास हुने व्यवस्था मिलाएका छौँ ।’ भन्सार कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया