घट्दै सक्रिय कोरोना संक्रमित, पाँच जिल्लामा मात्र पाँच सयभन्दा धेरै

  मंसिर १०, २०७७

काठमाडौँ, मङ्सिर १० : कर्णाली प्रदेशमा छ हजार एक जनामा कोरोना सङ्क्रमण देखिएकोमा पाँच हजार ८४२ जना सङ्क्रमणमुक्त भइसकेका छन् भने १३६ जना उपचाररत छन् । कुनै समय सङ्ख्या निकै बढेको कर्णाली प्रदेशमा अहिले कोरोना सङ्क्रमितको सङ्ख्यामा कमी आएको हो ।

कर्णाली प्रदेशको दैलेखमा मात्रै एक हजार ५७३ जनामा कोरोना देखिएकोमा त्यो नियन्त्रणमा आएर अहिले ४३ जनामात्रै दैलेखमा कोरोना सङ्क्रमित छन् । त्यस्तै कर्णाली प्रदेशमा सल्यानमा हाल २९ जना र जुम्लामा २८ तथा सुर्खेतमा १९ जनाबाहेक कर्णाली प्रदेशका अरु जिल्लामा सङ्क्रमितको सङ्ख्या दुई अङ्क छैन । मुगुमा सङ्क्रमितको सङ्ख्या शून्य छ । कालीकोट, जाजरकोट, डोल्पामा सङ्क्रमितको सङ्ख्या एक÷एक मात्रै  छ । रुकुम पश्चिममा १० जना र हुम्लामा चार जना सङ्क्रमित छन् ।

कुनै समय सुनसरी जिल्लामा मात्रै सात हजार ९६९ सङ्क्रमित रहेकोमा प्रदेश नं १ मा अहिले सक्रिय सङ्क्रमितको सङ्ख्या एक हजार ८८१  छ । प्रदेश नं १ मा २५ हजार ४२१ सक्रिय सङ्क्रमित रहेकोमा अहिले २३ हजार ७६७ जना निको भएका छन् । कोरोना सङ्क्रमणबाट यो प्रदेशमा १७३ जनाको मृत्यु भएको छ ।

यो प्रदेशमा कुनै पनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा कम छ । यो प्रदेशको इलाममा २२ जना, उदयपुरमा ५३ जना, ओखलढुङ्गामा ३१ जना, खोटाङमा १४ जना, झापामा ४४० जना, ताप्लेजुङमा ३० जना, तेह्रथुममा १८ जना, धनकुटामा २१ जना, पाँचथरमा २५ जना, भोजपुरमा १६ जना, मोरङमा ३२६ जना, सङ्खुवासभा ७८ जना, सुनसरी ३४३ जना र सोलुखुम्बुमा २३ जना सक्रिय सङ्क्रमित छन् । कुनै समय कोरोनाको हट स्पट रहेको प्रदेश नं २ मा अहिले क्रमिक रुपमा सबै जिल्लामा सङ्क्रमितको सङ्ख्या कम हुँदै आएको छ ।

कुनै समय निकै समस्याको रुपमा देखिएको प्रदेश नं २ मा १९ हजार ७०८ जनामध्ये १९ हजार १९१ जना निको हुनुभएको छ । यो प्रदेशमा १७४ जना कोरोनाको कारण निधन भएको छ । यो प्रदेशमा अहिले ३४३ जना मात्रै सक्रिय सङ्क्रमित छन् । यो प्रदेशमा सिराहमा १०८ जना सक्रिय सङ्क्रमित छन् । अरु जिल्लाहरुमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५० भन्दा कम छ । यो प्रदेशमा कुनै पनि जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा सबैमा कम छ ।

यो प्रदेशको धनुषामा १८ जना, पर्सामा १७ जना, बारा ४१ जना, महोत्तरी सात जना, रौतहट १० जना, सर्लाही ४२ जना, सर्लाही २० जना सक्रिय सङ्क्रमित छन् । कोरोनाले सबैभन्दा सक्रिय सङ्क्रमित धेरै रहेको प्रदेश बागमती रहे पनि यो प्रदेशमा सङ्क्रमितको सङ्ख्यामा कमी आउन थालेको छ । अझै पनि यो प्रदेशमा सक्रिय सङ्क्रमितको सङ्ख्या १२ हजार ३५५ छ । यो प्रदेशमा कोरोनाको कारणले ६५७ जनाको  मृत्यु भएको छ । यो प्रदेशमा एक लाख आठ हजार ८५७ जनाले कोरोना जितेका छन् ।

यो प्रदेशमा काठमाडौँ उपत्यकाबाहेकका अरु जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सयभन्दा कम छ । यो प्रदेशमा काभ्रेपलाञ्चोकमा ४४९ जना, काठमाडौँमा आठ हजार ६६७ जना, चितवनमा ३२७ जना, दोलखामा ९३ जना, धादिङमा १२४ जना, नुवाकोट १६२ जना, भक्तपुरमा ६२८ जना, मकवानपुरमा २३३ जना, रसुवामा १८ जना, रामेछापमा १४ जना, ललितपुरमा एक हजार ५१८ जना, सिन्धुपाल्चोकमा १०५ जना र सिन्धुलीमा ३७ जना सक्रिय सङ्क्रमित छन् ।

गण्डकी प्रदेशमा १३ हजार २९१ मध्ये ११ हजार ३७६ जनाले कोरोना जितेका छन् । यो प्रदेशमा ८८ जनाको कोरोनाका कारण निधन भएको छ । अहिले यो प्रदेशमा एक हजार ८२७ जना सकृय सङ्क्रमित छन् । यो प्रदेशको कास्कीमा मात्रै पाँच सय धेरै सक्रिय सङ्क्रमित छन् भने मनाङमा सङ्क्रमितको सङ्ख्या शून्य छ । यो प्रदेशमा गोरखा २०० जना, तनहँु २०५ जना नवलपरासी पूर्व १७९ जना, पर्वत ५७ जना, मुस्ताङ १८ जना, म्याम्दी २८ जना, लमजुङ ८१ जना, बाग्लुङ ८९ जना र स्याङ्जामा सक्रिय ८६ जना सक्रिय सङ्क्रमित छन् ।

प्रदेश ५ मा रुपन्देहीमा सक्रिय सङ्क्रमितको सङ्ख्या ५१२ जना रहेको छ । यो प्रदेशमा अर्घाखाँची २९ जना, कपलिवस्तु १६७ जना, गुल्मीमा ७२ जना, दाङमा ३५९ जना, नवलपरासी १४० जना, पाल्पामा १८७ जना, प्युठानमा ४६ जना, बर्दियामा ८९ जना, बाँकेमा २१३ जना रुकुम पूर्वमा चार जना र रोल्पामा २२ जना सक्रिय सङ्क्रमित छन् । यो प्रदेशमा २४ हजार ५७३ जनामध्ये २२ हजार ५४८ जना निको भएका छन् । यो प्रदेशमा १८५ जनाको ज्यान गएको छ भने एक हजार ८४० जना सक्रिय सङ्क्रमित छन् ।

सुदूरपश्चिम प्रदेशमा यतिबेला ९०२ जना सक्रिय सङ्क्रमित छन् । यो प्रदेशको अछाम जिल्लामा २२ जना, कञ्चनपुरमा १३१ जना, कैलालीमा ४८१ जना, डडेलधुरामा ८१ जना, डोटी १२ जना, दार्चुलामा ३९ जना, बझाङमा ६७ जना, बाजुरामा १५ जना र बैतडीमा ५४ जना सक्रिय सङक्रमित छन् ।

केही समयअघिसम्म सक्रिय सङ्क्रमितको सङख्या उकालो लागे पनि केही दिनदेखि सक्रिय सङ्क्रमितको सङ्ख्यामा कमी आउन थालेको छ । दुई लाख २२ हजार २८८ लाई कोरोना सङ्क्रमण भएपनि दुई लाख दुई हजार ६७ जनाले कोरोनालाई जितेका छन् ।

तपाईको प्रतिक्रिया