जी२० का नेताहरूलाई एकताबद्ध हुन राष्ट्रसङ्घका महासचिवद्वारा आग्रह

  मंसिर ०६, २०७७

ब्रासिलिया, मंसिर ६ : संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटर्रेसले विश्वका जी २० का नेताहरूलाई एकताबद्ध भएर काम गर्न आग्रह गर्नुभएको छ । उहाँले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गर्नुभएको हो ।

जी २० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ । सो बैठकको अघि उहाँले विश्वका नेताहरूलाई यो आग्रह गर्नुभएको बताइएको छ । विश्वमा अहिले विशेष गरेर कोभिड १९ को सङ्क्रमण देखापरिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उहाँले यस्ता र अरु पनि समस्या रहेको बताउनुभयो ।

त्यसैले यी समस्याको समाधान गर्नका लागि विश्वका नेताहरूले एक भएर काम गर्नुपर्ने र भन्दै उहाँले शुक्रबार सो कुरामा जोड दिनुभएको थियो । शुक्रबार संयुक्त राष्ट्रसङ्घको मुख्यालय न्युयोर्कमा संवाददातासँग कुरा गर्दै उहाँले उक्त कुरा बताउनुभएको हो ।

उहाँले सो पत्रकार सम्मेलनमा भन्नुभएको थियो– विश्वका जी २० का नेताहरूको यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुदैछ, त्यसमा मेरो पनि सहभागिता हुनेछ, तर मेरो सन्देश निकै साधारण छ र त्यो सन्देश हो कि विश्वमा अहिले देखापरेका विभिन्न खालका समस्याको समाधानका लागि हामीले एकताबद्ध भएर लाग्नुपर्दछ ।

उहाँले कोभिड १९ को समस्याले  कैयौँ देशलाई समस्यामा पारिरहेकोले यस महामारीबाट बाहिर निस्किन र आर्थिक र अरु पनि समस्याको समाधान गर्न जी २० को नेताहरू पनि लाग्नुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया