एक हजार ६७४ कोरोना संक्रमित थपिए, दुई हजार ३२३ संक्रमणमुक्त

  मंसिर ०६, २०७७

काठमाडौं, मंसिर ६ : नेपालमा कोरोनाभाइरसका एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । थपिएका सङ्क्रमितसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख १८ हजार ६३९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा आठ हजार १४४ नमूना परीक्षण गर्दा थप एक हजार ६७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । काठमाडौँ उपत्यकामा मात्रै ८९९ सङ्क्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज थपिएका सङ्क्रमितसँगै कूल सङ्क्रमितको सङ्ख्या दुई लाख १८ हजार ६३९ पुगेको छ । हालसम्म कोरोनाका कारण एक हजार ३०५ जनाको मृत्यु भएको छ । तीमध्ये एक लाख ९३ हजार ३२५ सङ्क्रमणमुक्त भएका छन् भने हाल देशभर २४ हजार नौ सक्रिय सङ्क्रमित छन् । सत्र हजार २०६ जना होम आइसोलेसनमा छन् । तीन सय ३६ जनाको आइसीयू र ४७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

गत २४ घण्टामा काठमाडौँमा ६८५, ललितपुरमा १६५ र भक्तपुरमा ४९, काभ्रेमा ५६, तनहुँमा ४४, कैलालीमा ४०, बाँकेमा ३९, कास्कीमा ७५, चितवनमा ६१, झापा र रुपन्देहीका ५७/५७, कपिलवस्तु र नवलपरासीमा ३३/३३, नवलपुरमा २८, मकवानपुरमा २५ र पाल्पाका १९ जना कोरोना सङ्क्रमित भएका छन् । मन्त्रालयका अनुसार धादिङमा १८, बर्दियामा १७, धनुषामा ११, दाङमा १०, गोरखामा नौ र नुवाकोटमा आठ जनामा कोरोना सङ्क्रमण भएको छ । यस्तै सिराहा, धनकुटा, सिन्धुपाल्चोक, बाग्लुङ, स्याङ्जा र रोल्पाका सात÷सात, डडेलधुरा पर्वत र बझाङमा छ/छ, सुनसरी, बारा र लमजुङमा पाँच/पाँच जनामा कारोना पुष्टि भएको छ ।

त्यसैगरी सर्लाही, रामेछाप, इलाम, अर्घाखाँची, दैलेख, गुल्मी र सल्यानमा चार÷चार, महोत्तरी, दोलखा, म्याग्दी, प्युठान, अछाम र कञ्चनपुरका तीन/तीन, उदयपुर, सप्तरी र सिन्धुलीका दुई/दुई र बाजुरा, खोटाङ, भोजपुर, सोलुखुम्बु, रुकुमपूर्व, रुकुमपश्चिम, सुर्खेत र बैतडीमा एक/एक जनामा कोरोना पुष्टि भएको छ । हाल मनाङ र मुगुमा एक जना पनि सङ्क्रमित छैनन् । काठमाडौँ, ललितपुर, भक्तपुर, झापा, मोरङ, सुनसरी, चितवन, काभ्रे, कास्की, दाङ, रुपन्देही र कैलालीमा ५०० भन्दा बढी सक्रिय सङ्क्रमित छन् ।

तपाईको प्रतिक्रिया