काठमाडौं उपत्यकामा ८९९ संक्रमित थपिए, कुल एक लाख नाघ्यो

  मंसिर ०६, २०७७

काठमाडौं, मंसिर ६ : काठमाडौं उपत्यकामा कोरोना भाइरसका कुल सङ्क्रमितको संख्या एक लाख नाघेको छ । शनिबार २४ घण्टामा उपत्यकामा ८९९ जना सङ्क्रमित थपिएसँगै कुल सङ्क्रमित एक लाख एक हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा देशैभरि आठ हजार १४४ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टाको कोभिड–१९ सम्बन्धी विवरण अद्यावधिक गर्दै काठमाडौं उपत्यकाका तीन जिल्लामा ८९९ जना सङ्क्रमित पुष्टि भएको जनाएको छ । मन्त्रालयका अनुसार देशैभरि एक हजार ६७४ जना सङ्क्रमित थपिएका छन् । उपत्यकाका तीन जिल्लामा ३८७ महिला र ५१२ जना पुरुषमा सङ्क्रमणको पुष्टि भएको छ ।

मन्त्रालयले काठमाडौं जिल्लामा हालसम्म ८२ हजार २७३, ललितपुरमा १२ हजार ११३ र भक्तपुरमा सात हजार ३८५ जना सङ्क्रमितको पहिचान गरिएको छ । देशैभरि हालसम्म दुई लाख १८ हजार ६३९ जना सङ्क्रमित पहिचान गरिएका छन् । उपत्यकामा पहिचान गरिएका सङ्क्रमित देशैभरिका सङ्क्रमितको करीब ४६ प्रतिशत छन् ।

मन्त्रालयका अनुसार हाल काठमाडौंमा दश हजार १०१, ललितपुरमा दुई हजार ११४ तथा भक्तपुरमा ७६९ जनामा कोभिड–१९ को सङ्क्रमण सक्रिय रहेको छ । काठमाडौंमा हालसम्म ७१ ह्जार ८५६, ललितपुरमा नौ हजार ९०९ र भक्तपुरमा छ हजार ५३२ जना सङ्क्रमित निको भएर घर फर्केका छन् ।

काठमाडौंमा ३१६, ललितपुरमा ९० र भक्तपुरमा ८४ जना गरी उपत्यकाका तीन जिल्लामा ४९० जना सङ्क्रमितको हालसम्म मृत्यु भएको छ । स्वास्थ्य पूर्बाधार सम्पन्न भएपनि कुल कोरोना सङ्क्रमित मृतकको ३७ प्रतिशत उपत्यकाका तीन जिल्लाका छन् ।

तपाईको प्रतिक्रिया