डेढ दशकपछि बल्यो कृष्णपुरको भेटघाटफाँटामा बिजुली

  कार्तिक २३, २०७७

कञ्चनपुर, कात्तिक २३ : कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ भेटघाटफाँटामा बस्ती बसेको डेढ दशकपछि बिजुली पुगेको छ । विद्युत् सेवा विस्तार भएपछि भेटघाटफाँटाका बासिन्दाले अँध्यारोमै बस्नुपर्ने बाध्यताबाट मुक्ति पाएका छन् ।

बस्तीमा रहेका १३२ परिवारका घरमा विद्युत् जडान गरिएको हो । विद्युत् सेवा नहुँदा स्थानीय बासिन्दाले रातिका बेला टुकीको सहारामा बस्तै आएका आएका थिए । “नजिकैको बस्तीमा विद्युत्को व्यवस्था थियो”, समाजसेवी अर्जुनबहादुर साउदले भन्नुभयो, “पूर्वपश्चिम राजमार्गभन्दा झण्डै २०० मिटर टाढा रहेको बस्तीमा विद्युत् सेवा थिएन ।

नजिकैको बस्तीको उज्यालो हेरेर चित्त बुझाउनुबाहेक अर्को विकल्प थिएन । विद्युत् सेवा विस्तार भएपछि टुकीको सहारामा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” निकै वर्षपछिको पहलपछि गाउँमा बिजुली बाल्न सकिएको उहाँले बताउनुभयो । “नजिकै बत्ती बलेको देखिन्थ्यो हाम्रो बस्तीमा विद्युत् नहुँदा बत्तीमुनिको अँध्यारो थियो”, करन चन्दले भन्नुभयो, “बस्तीमा बिजुली पुगेपछि हर्षको कुनै सीमा नै छैन । बस्तीका सबै जना खुशी छन् ।”

धेरै वर्षको पहलपछि जनप्रतिनिधिसँगै राजनीतिक दलका अगुवाहरुको पहलमा विद्युत् सेवा विस्तार भएको उहाँको भनाइ छ । केही परिवारले सौर्य प्यानलको व्यवस्था गरी उज्यालोको व्यवस्था मिलाएका भए पनि आर्थिक अवस्था कमजोर भएका धेरै परिवारले उज्यालोको व्यवस्था गर्न नसक्दा टुकी बाल्दै आएका थिए ।

“टुकीको धुवाँका कारण बस्तीमा श्वासप्रश्वाससम्बन्धी समस्या अधिक रहेको छ”, कुम्भजङ्ग शाहीले भन्नुभयो, “विद्यालय पढ्ने बालबालिकालाई रातिका बेला गृहकार्य गर्न र पढ्न झनै समस्या थियो । विद्युत्को व्यवस्थाले अब टुकीको सहारामा बस्नुपर्ने अवस्था रहेन ।” बस्तीका बासिन्दालाई विद्युत् सेवा विस्तार भएपछि सिँचाइ गरी व्यावसायिक खेती गर्न र घरेलु उद्योग सञ्चालन गरी आयआर्जन गर्नका लागि समेत सहज भएको छ ।

तपाईको प्रतिक्रिया