हुलाकी सडकको निर्माण काम तीव्र, १२ किलोमिटर सडकमा कालोपत्र

  कार्तिक २०, २०७७

लहान, कात्तिक २० : पूर्वपश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरीखण्डमा निर्माण कार्य तीव्र रुपमा अघि बढेको छ ।  पूर्वमा सप्तरी सदरमुकाम राजविराजदेखि पश्चिममा सिरहा बजारसम्म करिब ५४ किलोमिटरको उक्त सडकखण्डमा पुलसँगै सडक निर्माणको काम तीव्र रुपमा भइरहेको छ ।

पूर्वमा राजविराजदेखि पश्चिममा बलानसम्मको सप्तरी खण्डमा करिब १२ किलोमिटर सडक कालोपत्र गरिसकेको निर्माण कम्पनी रौता श्रेष्ठ दिवा जेभीका कन्ट्याक्ट म्यानेजर कमल प्रसाद यादवले जानकारी दिनुभयो । बाँकी सडकमा समेत कालोपत्र गर्ने स्तरसम्मको काम सकिसकेको र धमाधम कार्य भइरहेको उहाँको भनाइ छ ।

उहाँका अनुसार करिब २५ किलो मिटरको सो सडकखण्डमा अहिले ११ वटा पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । डिभिएम सात मिटर र दुबै छेउको सोलजर दुई÷दुई मिटर गरी ११ मिटरको सडक निर्माण भइरहेको छ । विसं २०७७ असार मसान्तभित्र सडकको सबै काम सम्पन्न गर्ने लक्षय लिएको भएपनि सडक निर्माणका क्रममा विभिन्न स्थानमा स्थानीयवासीले जग्गा विवादलाई लिएर अदालतमा मुद्दा हालेको र समयमा पुलहरु निर्माण नहुँदा काम अपेक्षाकृत रुपमा अघि बढाउन नसकिरहेको म्यानेजर यादवको भनाइ छ ।

यस्तै पूर्वमा बलानदेखि पश्चिममा सिरहा बजारसम्मको २९ किलोमिटर सडकमा समेत निर्माणको काम तीव्र गतिमा भइरहेको छ । सो सडक निर्माणको ठेक्का लिएको स्वछन्द, रोशन, महादेव खिम्ती जेभी जनकपुर उपमहानगरपालिका–४ धनुषाले निर्धारित समयमै सकिने गरी काम तीव्र गतिमा अगाडि बढाएको बताएको छ । दुई लेनको उक्त सडक कालोपत्र गर्न एक अर्व २० करोड २० लाखमा सम्झौता भएको ठेक्केदार कम्पनीका इन्जिनीयर चन्द्र यादवले जानकारी दिनुभयो । तीन वर्षभित्र काम सकिने गरि सम्झौता भएको र हालसम्म करिब ५५ प्रतिशत कार्य सम्पन्न भइसकेको उहाँको भनाइ छ ।

तराई मधेशकै विकासको मेरुदण्डको रुपमा लिएको हुलाकी सडकको निर्माणको काम शुरु भएपछि यस भेगका सर्वसाधारणसमेत खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेशको विकासले गति लिनुका साथै हजारौं युवाको रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको दाबी छ । हुलाकी सडक जीर्ण हुदाँ सर्वसाधारण सास्ती व्होर्दै आएका थिए । सडक निर्माण भएपछि सहज रुपमै सदरमुकामसम्म पुग्न सकिने स्थानीयवासीको भनाइ छ ।

तपाईको प्रतिक्रिया