संक्रमण बढेपछि फ्रान्समा एक महिनाका लागि फेरि पूर्ण लकडाउन

  कार्तिक १३, २०७७

पेरिस, कात्तिक १३ : कोरोना भाइरसको दोस्रो लहरको संक्रमण पहिलेको भन्दा अझ घातक हुन सक्ने भन्दै फ्रान्सेली राष्ट्रपति एमानुयल माख्रोले देशभरि नै नयाँ लकडाउनको घोषणा गरेका छन् । फ्रान्सका अस्पतालहरुमा कोरोना भाइरसबाट बढ्दो बिरामीको चाप कम गर्न यस्तो कदम चाल्नुपरेको राष्ट्रिय टेलिभिजनमार्फत राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपतिले बताएका हुन् ।

राष्ट्रपतिले भने, ‘कोरोना भाइरसको द्रुत गतिको संक्रमणले हामी अति अभिभूत भएका छौं । सबै फ्रान्सेलीले अब उच्च सतर्कता अपनाउनुपर्छ । यसको विकल्प छैन ।’ उनका अनुसार शुक्रबारदेखि नयाँ घोषणा लागू हुने छ । यो घोषणा डिसेम्बर १ सम्म लागू हुने छ । घोषणाअनुसार सुसार केन्द्र र स्कुलहरु भने खुला रहने छन् । लकडाउनको नयाँ नियमअनुसार सर्वसाधारण नागरिकहरु अत्यावश्यक सामान खरिद, स्वास्थ्य परामर्श र एक घण्टा दैनिक व्यायामका लागि निस्किन पाउने छन् । कफी, रेस्टुरेन्ट, बारहरु पूर्णरुपमा बन्द गर्नुपर्ने छ । सुपरमार्केट र फार्मेसीहरुहरु भने खुला रहन पाउने छन् ।

यदि कुनै रोजगारदाताले घरबाट काम गर्न असम्भव भएको दाबी गरेमा रोजगारदाताहरुलाई काममा जन अनुमति दिइने छ । ‘गएको वसन्त कालमा जस्तै तपाईं कामको लागि, चिकित्सकसितको भेट, आफन्तलाई सहयोग गर्न, आवश्यक किनमेल गर्न वा तत्कालै विमान लिनुपर्ने भए बाहिर जान सक्नुहुनेछ,’ फ्रान्सेली राष्ट्रपति माख्रोले सम्बोधनका क्रममा भने । लकडाउनको अवधिमा एक प्रान्तबाट अर्को प्रातमा जान भने पाइने छैन ।

कोरोना भाइरसको दोस्रो तरंगले ल्याएको गम्भीर स्थितिमा अहिलेको लकडाउनले बिरामीको चाप भएका अस्पतालहरुलाइ केही राहत दिने तथा सिकिस्त बिरामीहरुको उपचार गर्न सहज हुने विश्वास गरिएको छ ।

फ्रान्समा केही दिनदेखि संक्रमितको संख्या २४ घण्टामा ५२ हजार नाघेको थियो । गत २ दिनमा मात्रै करिब ८० हजार संक्रमित थपिएका थिए । हाल पेरिसका अस्पतालमा नब्बे प्रतिशत सघन उपचार कक्षहरु भरिएका छन् । जाडोयामको कारणले ठण्डीबाट प्रभावित बिरामीहरुको संख्या थपिँदा अस्पतालहरुले धान्नै नसक्ने स्थिति देखिएको चिकित्सकहरुले बारम्बार दोहोर्‍याइरहेका थिए ।

हाल फ्रान्समा कोरोना भाइरस परीक्षण गर्न मध्ये १७ प्रतिशतको नतिजा पोजिटिभ देखिएको छ । यो गतिमा भाइरस फैलिँदा नोभेम्बरको मध्यसम्म सघन उपचार कक्षमा बिरामीहरुको संख्या ९० हजार पुग्ने अनुमान गरिएको छ । दैनिक मृत्यु हुनेको संख्या पनि ५० प्रतिशतले बढ्नसक्ने देखेपछि सरकारले लकडाउनको कठोर निर्णय लिएको हो । लकडाउनको कारणले काममा जान नसक्नेको लागि सरकारले शतप्रतिशत तलब वा अंशिक बेरोजगारी भत्ताको सुनिश्चितता गरेको राष्ट्रपतिले सार्वजनिक गरेका छन् ।

तपाईको प्रतिक्रिया