राजस्थानबाट मुम्बई पराजित

  कार्तिक ११, २०७७

काठमाडौं, कात्तिक १० : इन्डियन प्रिमियर लिगको ४५ औं खेलमा राजस्थान रोयलले मुम्बई इन्डियन्सलाई आठ विकेटको विशाल अन्तरले हराएको छ । जितसँगै राजस्थान अङ्कतालिकाको छैठौं स्थानमा उक्लेको छ । राजस्थानले १२ खेलमध्ये पाँचमा जित हात पार्दै दश अङ्क बटुलेको छ । उसको प्ले अफ पुग्ने सम्भावना जिवितै छ ।

अबुधाबीमा मुम्बईले प्रस्तुत गरेको १९६ रनको विशाल लक्ष्य राजस्थानले खेल सकिन दश बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पुरा गर्यो । विशाल योगफल पछ्याउने क्रममा प्रमुख दुई ब्याट्सम्यान रोबिन उथप्पा र कप्तान स्टिभ स्मिथको विकेट ४४ रनमै पतन भएपछि राजस्थान दबाबमा आएको थियो तर अर्का ओपनर बेन्न स्टोक्सले सञ्जु साम्सनसँग तेस्रो विकेटका लागि एक सय ५२ रनको उत्कृष्ट साझेदारी गरेपछि उसको जित सम्भव भयो । स्टोक्सले मात्र ६० बलको सामना गर्दै १४ चौका र तीन छक्काको सहयोग १०७ रनको अविजित पारी खेल्नुभयो । विकेटकीपर ब्याट्सम्यान सञ्जु साम्सनले ३१ बलमा चार चौका र तीन छक्काको सहयोगमा ५४ रन बनाउनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको मुम्बईले पुरा २० ओभर खेल्दै पाँच विकेटको क्षतिमा १९५ रनको विशाल योगफल तयार गरेको थियो । १३ ओभरपछि १०१ रनमा चार विकेट गुमाएको मुम्बईलाई हार्दिक पाण्ड्या र सौरभ तिवारीले विष्फोटक पारी खेल्दै सम्मानजनक योगफलसम्म पुर्याए । पाण्ड्याले मात्र २१ बलमा दुई चौका र सात छक्काको सहयोगमा अविजित ६० रनको योगदान दिनुभयो । तिवारीले २५ बलमा ३४ रन बनाउनुभयो । राजस्थानका लागि जोफ्रा आर्चर र श्रेयास गोपालले सामान दुई दुई तथा कात्र्तिक त्यागिले एक विकेट लिनुभयो । बेन स्टोक्स प्लेयर अफ द् म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया