यसपालि थारू बस्ती सुनसान, झुमरा र सखियामा बजेनन् मादल

  कार्तिक ०८, २०७७

कञ्चनपुर/दाङ, कात्तिक ८ : विगतमा दशैं आएसँगै सखिया नृत्यले कञ्चनपुरका थारु गाउँमा छुट्टै रौनक ल्याउँथ्यो । तर, यो वर्ष गाउँमा सखियाको मादल बज्न छोडेपछि गाउँ रौनकविहीन बनेको छ ।

सखियाको तालमा घन्किने मादलसँगै बज्ने मञ्जिरा (सखिया नाचमा बजाइने बाजा) को आवाज नआउँदा यो वर्षको दशैंमा थारू गाउँ रौनकविहीन बनेको हो । कोरोना भाइरस सङ्क्रमण बढ्दो जोखिमका कारण थारु गाउँका टोल-टोलमा हुने सखिया नाच नभएपछि दशैंमा थारु बस्ती सुनसान बनेको छ ।

सामाजिक सद्भाव र धार्मिक भावनाले ओतप्रोत रहेको तथा सामूहिक रुपमा घर घरमा गएर देखाइने हुँदा भीडभाड हुने भएकाले नृत्यको आयोजना नगरिएको हो । थारु समुदायका अगुवा वडघर, गुरुवा, केसौका, चौकीदार, गाउँका मान्यजनसँगै जनप्रतिनिधिहरुले बैठक गरी दशैंका बेला भीडभाड हुन नदिनका लागि सखिया नृत्य नगर्ने निर्णय गरेका छन् ।

धार्मिक अनुष्ठान र तान्त्रिक विधिबाट आरम्भ र अन्त्य गरिने सखिया नृत्य परम्परा जोगाउनका लागि मात्रै भीडभाड नहुने गरी एक दुई दिन नाच्ने व्यवस्था गरिएको पिपलाडीका वडाध्यक्ष नरेन्द्रप्रसाद चौधरीले बताउनभयो । “नृत्यमा थारु समुदायको अटुट आस्था र धार्मिक विश्वास रहेको छ” उहाँले भन्नुभयो, “कोरोना कहर सकिएपछि अर्को वर्ष नृत्यलाई धार्मिक विधिका साथ गरिन्छ । यो वर्ष यस्तै रह्यो ।”

“कोरोनाका कारण विश्व नै आक्रान्त बनेको बेला सखिया नृत्यको आयोजना गर्नु मुर्खता हो”, जोनापुरका वडघर रामप्रसाद चौधरीले भन्नुभयो, “दशैंमा सखिया नृत्य आयोजना गर्नका लागि गुरुवासँग सल्लाह ग-यौं । गुरुवाले नृत्य आयोजना गर्दा रोगलाई निम्त्याउनु हो भनेपछि यो वर्ष सखिया नृत्य आयोजना नगर्ने भएका छौं ।

थारु समुदायमा दशैंका अवसरमा नाच लगेर सामूहिक रुपमा गुरुवा, वडघर र गाउँका मान्यजनबाट टिका थाप्ने चलन समेत रहेको छ । कोरोना सङ्क्रमण हुन नदिनका लागि नाच टोलीलाई नलग्ने र सामाजिक दूरी कायम गरेर मात्र टिका टालो गर्ने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।

“नाच टोलीसँगै वडघर, गुरुवा कहाँ टिका थाप्न जाँदाको मज्जा नै बेग्लै हुन्थ्यो”, सञ्चारकर्मी धन बहादुर कुश्मीले भन्नुभयो, “यो वर्षको दशैं कोरोनाले खल्लो बनाएको छ । आफन्तजन र नातागोतासँगै बसेर चामलको पिठोबाट बनेको ढिक्री सुगुँरको शिकारसँग खादै सखियाको मज्जा लिँदै दशैं मनाउन नपाइने भएको छ ।” कारोनाले यस वर्षको दशैं खल्लो बनाएको उहाँको भनाइ छ ।

मादलको तालसँगै कम्मर मर्काउदै सखिया नृत्यमा सहभागी हुने थारु युवतीहरु समेत दशैंका अवसरमा नृत्य गर्न नपाउँदा दुःखी भएका छन् । कोरोना सङ्क्रमणले दशैंमा सखिहरु ९सहेलीहरु० मिलेर नाचिने सखिया नृत्य गर्दा लगाउने नयाँ हातैले बुट्टा भरेर तयार पारिएका लहङ्गा र चोली समेत थारु युवतीहरुले पहिरन पाएका छैनन् । सखिया नृत्यमा थारु युवतीहरुले मादलको तालसँगै शरीरलाई विभिन्न मुद्रामा मोडेर नृत्य देखाउने गरेका छन् ।

“सहेलीसँग मिलेर सखिया नृत्य गरी रमाइलो गर्दा दशैं आएर सकिएको पत्तो नै हुँदैन्थ्यो”, सुनिता चौधरीले भन्नुभयो, “दशैंका बेला गाउँमा बेग्लै किसिमको रौनक हुन्थ्यो । मादलको तालमा नृत्य गर्दाको अनुभूति नै बेग्लै किसिमको हुन्थ्यो । कोरोना सङक्रमणले सखिया नृत्य नगर्ने भएपछि गाँउ नै सुनसान छ ।”

थारु बस्ती सुनसान : झुमरा र सखियामा बजेनन् मादल
दाङ
: बडादशैंमा मात्र नाचिने थारुहरुको सखिया र झुमरा नाच यसपालि यहाँ जम्न सकेन । कोरोना सङ्क्रमणका कारणले सामूहिक भेला र भीडभाड रोकिएकाले नाच रोकिएका हुन् ।

थारु समुदायमा नवमी धुमधाम मनाइन्छ । सोही दिन चामलको सेतो टीका, बाबरीको फूल र मकैको जमरा मान्यजनबाट ग्रहण गर्ने चलन छ । थारु समुदायमा दशैं आउनुभन्दा एक महिना अगाडिदेखि सखिया र झुमरा नाच नाच्ने गरिन्थ्यो तर यसपालि कोभिड–१९ का कारण कुनै पनि नाच हुन सकेनन् । झुमरा नाच र दशैंविशेष विभिन्न सांस्कृतिक कार्यक्रम पनि भएन, गाउँघर सुनसान छ ।

नवमीको दिन बिहानै कुल देवतालाई भेरवा (कुपिण्डोबाट बनाएको भेंडा) र भालेको बलि दिने गरिन्छ र त्यसको पित्तर (पिण्ड) दिने चलन छ । त्यस दिन बलि दिइएको कुखुरा र कुभिण्डो पकाएर घरका सबैले खाने गर्छन् ।

नवमीका दिन थारु युवकयुवती रातभर सखिया र झुमरा नाच नाच्ने गर्छन् । घोराही १७ कर्जाहीका पूर्ण चौधरी भन्नुहुन्छ, “परम्परागत चाड दशैँमा अरु समुदायभन्दा थारु समुदायको फरक हुन्थ्यो । यो नाचले दशैँको रौनकलाई अझ बढाउँथ्यो ।”

प्रायः युवकले मादल बजाउने र युवतीले नाच्ने प्रचलन छ । रङ्गीबिरङ्गी पहिरन लगाएर छमछमी नाच्ने भुमरा तथा सखिया नाचको महत्वले दशैंँको गरिमालाई समेत बढाएको हुन्छ । घोराही उपमहानगरपालिका– १० का थारु अगुवा धनीराम चौधरी भन्नुहुन्छ, “यसपालिको दशैंँमा कोभिड –१९ को महामारीका कारण पूरै गाउँ नै सुनसान छ । घटस्थापनाका दिनदेखि थारु बस्तीमा झनै रमाइलो हुन्थ्यो । थारु बस्तीको नाचगान हेर्दा गाउँघरका सबैलाई रमाइलो हुन्थ्यो ।” उनीहरु हरेक वर्ष नयाँ पहिरन लगाएर नाच्ने गर्छन् ।

थारु समुदायमा कृष्णाष्टमीदेखि सखिया नाचको गीत गाउन शुरु भए पनि विशेषगरी नाचसँगै दशैँमा गाउने गरिन्छ । सखिया नाच्नका लागि १५–२० युवतीले सेतो रङको फरिया तथा रातो चोलिया र रिबन लगाउने गर्छन् । युवकले भने सेतो रङको धोती र रुचिअनुसारको कमिज लगाई मादल भिरेर बजाउने चलन छ । सखिया नाच मादलको तालसंँगै तीन खण्डमा नाच्ने गरिन्छ । यसपालिको दशैंँमा दाङका थारु बस्तीमा मादल पनि बजेनन्, नाचगान पनि भएन र गाउँघर सुनसान भएको छ ।

चार वर्षदेखि सखिया नाच नाच्दै आउनुभएका घोराही–४ गोग्लीकी अनिता चौधरी यसपालि नाच्न नपाउँदा खिन्न हुनुहुन्छ । उहाँले भन्नुभयो, “कोरोनाका कारण यसपालि घरमै बस्ने निर्णय ग¥यौँ, अर्को साल सबै साथीहरु जम्मा भएर नाच्ने, रमाइलो गर्ने छौँ ।”

तपाईको प्रतिक्रिया