जडीबुटी राख्ने भण्डार बन्दै सिमकोट विमानस्थल

  कार्तिक ०८, २०७७

सिमकोट, कात्तिक ७ : अति संवेदनशील हुम्लाको सिमकोट विमानस्थल क्षेत्र व्यापारीको जडीबुटी राख्ने भण्डार बनेको छ । सर्वसाधारणले विमानस्थलको निश्चित क्षेत्रबाहेक अन्यत्र जान पाउँदैनन् तर व्यापारीको जडीबुटी ओसारपसार र भण्डारण गर्ने काम चलिरहेको छ ।

सिमकोट विमानस्थलको मूल प्रवेशद्वारदेखि संवेदनशील क्षेत्रसम्म व्यापारीले जडीबुटी थुपार्दा फोहोर देखिएको छ । विमानस्थलको खाली क्षेत्रमा जडीबुटी जिल्ला बाहिर निकासी गर्नका लागि सजिलो हुने जनाउँदै विमानस्थलमा थुपारिएको छ ।

प्रत्येक दिन बिहान ७ देखि १० बजेसम्म हवाइजहाजले उडान भर्ने भएका कारण विमानस्थल क्षेत्रमा घोडा र खच्चर जान नपाए पनि त्यसपछि विमानस्थलभित्र सजिलै प्रवेश गर्ने गरेका छन् । जहाजको उडान १० बजे सकिएलगत्तै व्यापारीले प्रवेशद्वारको ढोका क्षेत्रभित्रको खाली ठाउँमा प्लाष्टिकमा जडीबुटी सुकाउने गरेका छन् । यसबाट आवतजावत गर्नसमेत अप्ठ्यारो भएको यात्रुले बताएका छन् ।    

विमानस्थलको जहाज पार्किङ क्षेत्रबाहेक अन्य स्थानमा सामान राख्न पाइने विमानस्थल प्रमुख विष्णुप्रसाद अधिकारीले बताउनुभयो । नेपालञ्ज विमानस्थलको उदाहरण दिँदै उहाँले जहाज पार्किङ र यात्रु जाँच तथा संवेदनशील क्षेत्रमा कसैले सामग्री राख्न नपाउने तर अन्य खाली ठाउँमा पहिलादेखि नै राख्ने गरिएको उहाँले स्वीकार्नुभयो । 

यस वर्ष हुम्लाका व्यापारीले हालसम्मकै सबैभन्दाीधेरै जडीबुटी संकलन गरेका छन् । एक व्यापारीले पाँच सय क्विन्टलसम्म जडीबुटी खरीद गरी ल्याएका छन् । संकलित जडिबुटीमध्ये दुई हजार क्विन्टल सदरमुकाम सिमकोट आइपुगेको छ । पचासदेखि चार सय क्विन्टलसम्म जडीबुटी खरीद गर्ने व्यापारीको संख्या २० भन्दा बढी छ । अझै एक हजार चार सय क्विन्टल जडीबुटी संकलन भएका क्षेत्रबाट आउने क्रम जारी छ । 

अहिले सिमकोट विमानस्थल क्षेत्रमा जताततै जडीबुटी मात्र देखिने गरेको छ । हाल सदरमुकाम सिमकोटमा आइपुगेको जडीबुटी अधिकांश खार्पुनाथ गाउँपालिकाको छाचौरबाट ल्याइएको हो ।    
 चुवाखोला, लुड्फे, रानीसैना र चंखेलीबाट पनि जडिबुटी संकलन हुने गरेको छ । यस वर्ष विभागबाट ३४० टन अर्थात् तीन हजार चार सय क्विन्टल जटामासी संकलनको पुर्जी व्यापारीलाई दिइएको जिल्ला डिभिजन वन कार्यालय स्रोतले जनाएको छ । गत वर्ष पहिलेबाटै रोकिँदै आएको उक्त जडीबुटीसहित दुई हजार पाँच सय क्विन्टल संकलन भई निकासी भएको थियो ।    

 हाल संकलन भइरहेका कारण विभागबाट छुट पुर्जी ल्याइएपछि कार्यालयले नापतौल गर्नेछ । संकलन हुने क्षेत्रमा व्यापारीले प्रतिकेजी रु ४५० सम्म मूल्य तिरेका छन् । सिमकोटसम्म ढुवानी दर प्रतिकेजी रु १४० सम्म परेको व्यापारीले बताउने गरेका छन् । जिल्ला डिभिजन वन कार्यालयले संकलन पुर्जी दिए तापनि निकासी पुर्जी भने नदिएको बताइएको छ ।

तपाईको प्रतिक्रिया