कलाकारको दशैँ : खानासँगै स्वास्थ्यमा उच्च प्राथमिकता

  कार्तिक ०८, २०७७

काठमाडौँ, कात्तिक ८ : दशैँमा स्वास्थ्य तथा सुरक्षित भएर चाडपर्व मान्न र खानपानमा मात्रै धेरै ध्यान केन्द्रित नगर्न कलाकारको सुझाव छ । हास्य कलाकार हरिवंश आचार्य दशैँ भन्दैमा कोरोना नलाग्ने भन्ने हुँदैन, सबैले सुरक्षित भएर चाडपर्व मान्न र खानपानमा विशेष ध्यान दिन सुझाव दिनुहुन्छ । उहाँ म कोरोनाको मुखबाट आएको व्यक्ति हुँ त्यसैले कोरोनालाई आत्मविश्वास र खानपानको माध्यमबाटै पराजित गर्नुपर्छ भन्नुहुन्छ ।

नेपाल भाषा चलचित्रका निर्देशक रामकृष्ण खड्गी नेवार समुदायको भए पनि मासुबाट टाढा नै हुनुहुन्छ । उहाँ शाकाहारी भएको छ वर्ष भयो । अमानवीय ढङ्गबाट काटमार गरेको देखेपछि मासु खान मन नलागेको बताउँदै उहाँले मलाई पशुबलि मन पर्दैन । शाकाहारी हुँदा शरीर मात्र नभएर मस्तिष्क पनि शान्त बनाउँछ भन्नुभयो । दशैँमा आफू राइता, सिकर्नी, रसवरी, ताजा अचार, दही, फलफूल, हरिया तरकारी, फलफूल, गेडागुडी, सुप, रोटीका परिकार खाएर मनाउने उहाँ बताउनुहुन्छ ।

यता गायक रामकृष्ण दुवाल नेवारी समुदायमा मासुलाई धेरै महìवका साथ लिइन्छ । कुनै पनि पूजाका लागि मासु नै चाहिन्छ । देवीदेवताको नाममा बलि दिएर मासु हामीले खाने हो भन्नुहुन्छ । उहाँले मासु खाएर नै दशैँ मनाउने जानकारी दिनुभयो । अभिनेत्री दिपाश्री निरौला मासु बढी मात्रामा खानु स्वास्थ्यका हिसाबले राम्रो मानिँदैन तर पनि दशैँ हो के गर्नु ? भन्नुहुन्छ ।

निर्माता आकाश अधिकारी चाडपर्व भन्ने बित्तिकै मासु नै खानुपर्छ भन्ने मलाई लाग्दैन । अहिले कोरोनाको महामारीमा स्वस्थकर परिकार बनाएर खान जरुरी छ । दाल, गेडागुडी, पनिर, दूूध, कुरिलो, भटमास जस्ता खानेकुराबाट मासुको जस्तै प्रोटिन प्राप्त गर्न सकिन्छ भन्नुहुन्छ । यस्ता खानेकुराको परिकारका साथमा दशैँ मनाउन उहाँको सुझाव छ ।

तपाईको प्रतिक्रिया