कलकत्तालाई हराउँदै बैंग्लौर दोस्रो स्थानमा उक्लियो

  कार्तिक ०६, २०७७

काठमाडौं, कात्तिक ६ : रोयल च्यालेन्जर्स बैंग्लौर इन्डियन प्रिमियर लिग (आईपीएल)को तेह्रौं संस्करणको दोस्रो स्थानमा उक्लेको छ । लिगको आफ्नो दशौं खेलमा उसले कलकत्ता नाइट राइडर्सलाई आठ विकेटले पराजित ग-यो। प्रिमियर लिगको जारी संस्करणको प्रारम्भिक खेलमा लगातार हार बेहोरेर आलोचना खेपेको बैंग्लौरले पछिल्ला खेलहरुमा उत्कृष्ट प्रदर्शन गरेको हो ।

अबुधाबीमा गए राति अबेर सम्पन्न खेलमा कलकत्ताले प्रस्तुत गरेको ८५ रनको लक्ष्य बैंग्लौरले खेल सकिन ३९ बल बाँकी छँदै मात्र दुई विकेटको क्षतिमा पुरा गर्यो । बैंग्लौरको जितमा ओपनर देवदत्त पडीक्कलले सर्वाधिक २५, आरोन फिञ्चले १६ तथा गुरकिरात सिंहले २१ र कप्तान विराट कोहलीले अविजित रहँदै १८ रनको योगदान दिनुभयो । कलकत्ताका लागि लक्की फरगुसनले एक विकेट लिनुभयो ।

यसअघि टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको कलकत्ता २० ओभरमा आठ विकेटको क्षतिमा मात्र ८४ रन जोड्न सक्यो । यो प्रिमियर लिगमा अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । उसको पारी कप्तान इयन मोर्गनले गर्नुभएको ३० रनको योगदान नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो ।

बैंग्लौरका मोहम्मद सिराजले चार ओभरमा दुई मेडन राख्दै आठ रन खर्चेर तीन विकेट लिनुभयो । प्रिमियर लिगमा एकैजना बलरमा दुई मेडन ओभर बलिंग गरेको यो पहिलो अवसर हो । यूज्वेन्द्र चाहलले दुई तथा वाशिंगटन सुन्दर र नवदीप सैनीले सामान एक एक विकेट लिनुभयो । मोहम्मद सिराज खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो ।

तपाईको प्रतिक्रिया