पञ्जाबको प्ले अफ पुग्ने सम्भावना जीवितै

  कार्तिक ०५, २०७७

काठमाडौं, कात्तिक ५ : इन्डियन प्रिमियर लिगमा देल्ही क्यापिटल्सलाई हराएर किंग्स एलेभन पञ्जाबले प्ले अफमा पुग्ने आफ्नो सम्भावनालाई जीवितै राखेको छ । जितसँगै उसले १० खेलबाट आठ अङ्क बटुलेको छ । प्रतियोगिताको लिग चरणमा उसले चार खेल खेल्न अझै बाँकी छ । गए राति सम्पन्न खेलमा पञ्जाबले देल्हीलाई पाँच विकेटले हराएको हो ।

देल्हीले प्रस्तुत गरेको १६५ रनको लक्ष्य पछ्याउँदै पञ्जाबले खेल सकिन एक ओभर बाँकी छँदै पाँच विकेटको क्षतिमा १६७ रन बनाएर पुरा गर्यो । पञ्जाबका लागि निकोलस पूरनले सर्वाधिक ५३ रनको योगदान दिनुभयो । ५६ रनमै तीन विकेट गुमाएर दबाबमा आएको पञ्जाबलाई सहज अवस्थामा पुर्याउन निकोलस पूरनले ग्लैन मैक्सवेलसँग चौथो विकेटका लागि मात्र ४० बलमा ६६ रनको साझेदारी गर्नुभयो ।

उहाँले २८ बलमा छ चौका र तीन छक्का प्रहार गर्नुभयो । मैक्सवेलले २४ बलमा ३२ रन बनाएर पेभेलियन फर्किदा पञ्जाबलाई जितका लागि २५ बलमा १८ रन आवश्यक थियो । जिम्मी निशम र दिपक हुडाले अविजित रहँदै पञ्जाबलाई जितसम्म पुर्याउनुभयो । पञ्जाबका लागि मोहम्मद सामीले दुई तथा ग्लैन म्याक्सवैल, जिम्मी निशम र मुरुगन आश्विनले सामान एक एक विकेट लिनुभयो ।

यसअघि दुबईमा टस जितेर पहिला ब्याटिंग गर्ने निर्णय गरेको देल्हीले शिखर धवनको अविजित शतकीय पारीको सहयोगमा पाँच विकेटको क्षतिमा १६४ रनको औसत योगफल तयार गरेको थियो । धवनले मात्र ६१ बलको सामना गर्दै १२ चौका र तीन छक्का प्रहार गर्दै १०६ रन बनाउनुभयो । प्रतियोगितामा धवनले लगातार दोस्रो शतक लगाउँदा आफ्नो टी ट्वान्टी क्रिकेट जिवनको पाँच हजार रन पूरा गर्नुभयो ।

देल्हीका लागि कगिासो रबाडाले सर्वाधिक दुई तथा अक्षर पटेल र रबिचन्द्रन आश्विनले सामान एक एक विकेट लिनुभयो । नेपाली लेग स्पिनर सन्दीप लामिछानेले लगातार दशौं खेलमा समेत प्लेइंग एलेभनमा स्थान सुनिश्चित गर्न सक्नुभएन । टोलि व्यवस्थापकले दुई स्पिनर पटेल र आश्विनलाई अवसर दिदै आएको छ । अर्का स्पिनर अमित मिश्रा घाइते भएपछि सन्दीपले अवसर पाउने अपेक्षा गरिएपनि देल्हीले सन्दीपलाई हालसम्म प्लेइंग एलेभनमा खेलाएको छैन् । प्रतियोगिता अन्तगर्त आज हुने खेलमा कलकत्ताले बैंग्लौरको सामना गर्दैछ ।

तपाईको प्रतिक्रिया