कंगना र बहिनी रंगोलीविरुद्ध ‘एफआइआर’ दर्ता

  कार्तिक ०२, २०७७

काठमाडौं, कात्तिक २ : धार्मिक वैमनस्यता (घृणा) फैलाएको आरोपमा प्रहरीले बलिउड अभिनेत्री कंगना रनावत र उनकी बहिनी रंगोली चंदेलविरुद्ध ‘एफआईआर’ दर्ता गरेको छ ।

टाइम्स अफ इन्डियाका अनुसार शनिबार बान्द्रा मेट्रोपोलिटियन मेजिस्ट्रेटले मुम्बई प्रहरीलाई कंगना र उनकी बहिनी रंगोलीविरुद्ध मुद्दा दर्ता गर्न निर्देशन दिएपछि ‘केस’ दर्ता भएको हो ।

बलिउडका कास्टिङ डिरेक्टर शाहिल असरफ सैयद र मुन्ना वरालीले बान्द्रा मेजिस्ट्रेट कोर्टमा दुई दिदीबहिनीविरुद्ध निवेदन दिएपछि मुद्दा दर्ता भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

सैयदले पछिल्ला केही महिनामा अभिनेत्री कंगनाले सामाजिक सञ्जाल ट्विटर र अन्तर्वार्तामार्फत् बलिउडलाई नातावाद, फेभरिटिज्म हब, लागूूपदार्थ दुर्व्यसनी र अपराधीहरुको अड्डाको रुपमा बदनाम गरेको भन्दै निवेदन दिएको ‘द हिन्दुस्तान टाइम्स’मा उल्लेख छ ।

सैयदको बयानमा लेखिएको छ, ‘मानिसहरुका बीचमा बलिउडको नराम्रो छवि निर्माण गर्नुका साथै दुई समुदाय (हिन्दु र मुस्लिम)बीच साम्प्रादायिक विभाजन र फाटो खडा गर्ने प्रयास गरेका छन् । कंगनाले आफ्नो सबै ट्विटमा धर्म जोड्दै आएकी छिन् ।’

रंगोलीले पनि साम्प्रादायिक विभाजन ल्याउने किसिमको आपत्तिजनक ट्विट गरेको सैयदले बताएका छन् । उनको ट्विटले मस्लिम समुदायको मानिसको भावनामा चोट पुर्‍याएकोसमेत सैयदले मिडियालाई बताएका छन् ।

प्रहरीमा यो मुद्दा दर्ता भएपछि कंगनाकी वकिल रिजवान सिद्दिकीले अभिव्यक्ति स्वतन्त्रतालाई साम्प्रादायिक पक्षसँग जोडेर हेर्न नमिल्ने बताएको ‘द हिन्दुस्तान टाइम्स’ले जनाएको छ ।

तपाईको प्रतिक्रिया