बाग्लुङका २ संघीय सांसदद्वारा दशैं भत्ता फिर्ता

  कार्तिक ०२, २०७७

बाग्लुङ, कात्तिक २ : बागलुङबाट प्रत्यक्षरुपमा निर्वाचित संघीय सांसद डा सूर्य पाठकले दशैं भत्ताबापतको रकम सरकारलाई फिर्ता गर्नुभएको छ । बागलुङ क्षेत्र नम्बर १ का सांसद पाठकले देशमा कोरोनाका कारण आर्थिक संकट परेको भन्दै दशैं भत्ता स्वरुप आफ्नो खातामा आएको फिर्ता गरेको बताउनुभएको छ ।

आइतबार संघीय सांसद सचिवालय सिंहदरबार पुगेर सांसद पाठकले आफ्नो खातामा दाखिला भएको रु। ६४ हजार ७० सरकारी कोषमा दाखिला गर्नका लागि निवेदन दिएको पाठकले जनाउनुभयो । ‘आधिकारीक रुपमा दशैं भत्ता फिर्ता गर्नका लागि निवेदन दिएर रकम फिर्ता गर्न तोक लगाएर फर्केको छु’ पाठकले भन्नुभयो ‘कोरोनाका कारण देशमा आर्थिक संकट भएको समयमा आफूले प्राप्त गरेको दशैं भत्ता फिर्ता गरेको छु ।’

त्यसै गरी बाग्लुङ क्षेत्र नं २ का संघीय सांसद देवेन्द्र पौडेलले दशैं भत्ता वापत आएको रकम भूजीखोलाका बाढीपीडितलाई सहयोग गर्नुहुने भएको छ । सामाजिक सञ्जालमा लेख्दै सांसद पौडेलले दशैंमा प्राप्त ६४ हजार रकम भूजीखोलाका बाढीपीडितलाई दिने जानकारी दिनुभयो । ‘मलाई दशैं भत्ता स्वरुप आएको रकम भुजिखोला बाढी पिडितलाई हस्तान्तरण गर्नेछु ।’ सांसद पौडेलले सामाजिक सञ्जालमा लेख्नुभएको छ ।

तपाईको प्रतिक्रिया