कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयकी संरक्षक इन्दिरा श्रेष्ठको निधन

  असोज २७, २०७७

काठमाडौँ, असोज २७ : कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयकी संरक्षक एवम् अध्यक्ष इन्दिरा श्रेष्ठको ८० वर्षको उमेरमा मङ्गलबार बिहान थापाथलीस्थित निवासमा निधन भएको छ । उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

मुटु र अल्जाइमर्स राेगका कारण लामोसमयदेखि घरमै स्वास्थ्यलाभ गरिरहनुभएकी गायिका एवम् समाजसेवी श्रेष्ठको बिहान ६ः३० बजे निधन भएको हो । कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयका केन्द्राध्यक्ष धनबहादुर गोपालीका अनुसार, मुटु र अल्जाइमरकी बिरामी इन्दिराको मङ्गलबार बिहान एक्कासि निधन भएको हो ।

विक्रम सम्बत् १९९७ मङ्सिर २३ गते काठमाडौँको झोँछे टोलमा जन्मुभएकी श्रेष्ठले सङ्गीत प्रवीण गर्नुभएको छ । शास्त्रीय तथा आधुनिक गीत सङ्गीतका साथै राग गायनमा सक्रिय श्रेष्ठका तिमी बिनालगायत तीनवटा आधुनिक गीति एल्वम एवम् इन्दिरा यात्रालगायत संस्मरणात्मक पुस्तक प्रकाशित छन् ।

म जल्दै जान्छु चितामा… गीतकी गायिका इन्दिरा अन्तिम समयसम्म समाज सेवामा तल्लीन हुनुहुन्थ्यो । उहाँले २०५० सालमा पुल्चोकस्थित लाखौँ मूल्य पर्ने घर सङ्गीत विद्यालयलाई दान गर्नुभएको थियो । त्यसपछि कलानिधि इन्दिरा सङ्गीत महाविद्यालयको संरक्षक र अध्यक्षको रुपमा योगदान दिँदै आउनुभएको थियो ।

उहाँ नेपाल बाल सङ्गठन, परिवार नियोजन सङ्घ, क्षयरोग निवारण सङ्घ, नेपाल जेसिसलगायत दर्जनौँ संस्थामा रहेर सामाजिक सेवामा सक्रिय हुनुहुन्थ्यो । उहाँले त्रिशक्तिपट्ट, गोरखा दक्षिणबाहु सुप्रख्यात, दैवीप्रकोट सेवा पदकलगायत दर्जनौँ संस्थाबाट मानसम्मान, पदक प्राप्त गर्नुभएको थियो । उहाँको श्रीमान् क्याप्टेन गोपालप्रसाद श्रेष्ठको पहिला नै निधन भइसकेको छ । उहाँका एक छोरा र दुई छोरी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया