रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘सहायक श्रीमान’ छनौट

  असार २८, २०७७

काठमाडौँ, असार २८ : बहुपति प्रथाका बारेमा निर्माण भएको वृत्तचित्र ‘सहायक श्रीमान’ (को–हसबेन्ड) रुसमा हुने अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनौट भएको छ । उक्त महोत्सव भदौ ११ देखि १३ गते (अगष्ट २७ देखि २९) सम्म हुने जनाइएको छ ।

विश्वमा महामारीको रुपमा फैलिएको कोरोना सङ्क्रमणको कारण नेपाली चलचित्र तथा वृत्तचित्रको अन्तराष्ट्रिय प्रदर्शनको यात्रा रोकिएको थियो । निर्देशक गणेश पाण्डेका भन्नुहुन्छ, ‘कोरोनाका कारण विभिन्न देशका चलचित्र महोत्सव स्थगित भएका धेरै चलचित्रहरूको यात्रा रोकिएको थियो । अब विस्तारै विभिन्न महोत्सव आयोजना हुँदै छन् । आशा छ, नेपाली चलचित्रले पनि स्थान पाउँछ होला ।’

बहुपति प्रथामा आधारित ३५ मिनेटको वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो । घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि नेपालका केही हिमाली जिल्लामा विद्यमान छ ।

सोही विषयलाई निर्देशक पाण्डेले दर्शकसामू प्रस्तुत गर्नुभएको छ । उहाँले हुम्लाको लामा समुदायमा अहिले पनि दाजुभाइका लागि एउटै श्रीमती बिहे गर्ने चलन रहेको बताउनुभयो । ‘उनीहरू माया र काम मात्रै बाँडदैनन्, श्रीमती पनि एक आपसमा बाँड्छन्,’ निर्देशक पाण्डेले थप्नुभयो, ‘जुन अहिलेको पुस्ताका लागि अत्यन्तै अनौठो हो । एउटै श्रीमतीसँग रमाइरहेका र विद्रोह गरेका तीन वटा परिवारको कथालाई वृत्तचित्रमा उठाएको छु ।’

‘भाग्यले बाँचेकाहरु’ नामक वृत्तचित्रबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा चर्चा कमाउनुभएको निर्देशक पाण्डेले करिब चार वर्षको छायाङ्कन र अनुसन्धानबाट सहायक श्रीमान निर्माण गर्नुभएको हो ।

साइन मिडिया प्रालिका लागि शारदा गैरेले निर्माण गर्नुभएको वृत्तचित्रलाई ईश्वर कोइराला, चन्द्रमान डङ्गोल, अविनाश लामा र राधेश्याम तिमिल्सिनाले छायाङकन गर्नुभएको हो । जुगल डङ्गोलको सङ्गीत संयोजन रहेको सो वृत्तचित्रले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ)मा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट वृत्तचित्र अवार्डको उपाधि पनि प्राप्त गर्न सफल भइसक्यो ।

तपाईको प्रतिक्रिया