घुस लिएको र शैक्षिक योग्यताको नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

  चैत ०७, २०७६

काठमाडौं, चैत ७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बेलबारी नगरपालिका–२ को कार्यालय बाहिर लेखापढी व्यवसायी तीर्थराज गिरीविरुद्ध रु छ लाख घुस लिएको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

उनीमाथि सेवाग्राहीको नागरिकताको प्रमाणपत्रमा भारतीय सेनामा कार्यरत रहेको कागजातअनुसार नाम र जन्म मिति सच्याउन खर्च लाग्छ भनी रु छ लाख घुस लिएको अभियोग लागेको छ ।

सो कार्यमा संलग्न जिल्ला प्रशासन कार्यालय मोरङका खरिदार टेकबहादुर श्रेष्ठलाई रु एक लाख घुस दिएको पाइएको छ । आयोगले गिरी र श्रेष्ठलाई बिगो असुल गरी कारवाहीको माग गरेको छ ।

यस्तै आयोगले साझापुर उच्च मावि मेघौली चितवनमा राहत दरबन्दीमा कार्यरत शिक्षक नारायण शर्मा र नेपाल विद्युत प्राधिकरण जलेश्वर महोत्तरीका तत्कालीन सुपरभाइजर महन्थ मण्डलको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । यसैगरी आयोगले उच्च सरकारी वकिल कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादवले ठगी मुद्दा मिलाइदिने भन्दै सेवाग्राहीसँग रु १५ हजार घुस लिएको अभियोगमा मुद्दा दायर गरेको छ ।

त्यस्तै आयोगले माध्यमिक विद्यालय लगडी गदियानीका शिक्षक रामनारायण यादवको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको आरोपमा मुद्दा दायर गरेको छ । नेपाल विद्युत् प्राधिकरणका ग्रिड महाशाखा चौकीटोल हेटौँडामा कार्यरत लोकनाथ खनालको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै मुद्दा दायर गरेको छ ।

सोही कार्यालयमा कार्यरत इलेक्ट्रिसियन शङ्करबहादुर तामाङ, भानु नगरपालिका तनहुँमा कार्यरत कार्यालय सहयोगी हेलन गुरुङ र सूर्योदय उच्च मावि हुम्लामा कार्यरत शिक्षक जितेन्द्रकुमार झाको पनि शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको अभियोगमा आजै आयोगले मुद्दा दायर गरेको छ ।

तपाईको प्रतिक्रिया