हिमायलको सबै अन्तर्राष्ट्रिय उडान स्थगित

  चैत ०७, २०७६

काठमाडौँ, चैत ७ : कोभिड–१९ को विश्वव्यापी सङ्क्रमण फैलिएसँगै सम्भावित जोखिमलाई नियन्त्रण गर्न नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने वायु सेवा प्रदायक कम्पनीले लगभग आफ्ना सबै अन्तरराष्ट्रिय उडान स्थगन गरेका छन् । निजी लगानीको हिमालय एयरलाइन्सले आफ्ना सबै अन्तराष्ट्रिय गन्तव्यको उडान स्थगन गरेको हो ।

कम्पनीले आजराति अबुदाबीको अन्तिम उडान गरेपछि अबको केही समय कुनै पनि उडान नगर्ने भएको हो । कोरोनाको सङ्क्रमणलाई मध्यनजर गर्दै अन्तरराष्ट्रिय गन्तव्य मुलुकले पनि विशेष सावधानी अपनाएकाले कम्पनीले सबै गन्तव्यको उडान स्थगन गरेको कम्पनीका सेवा सुधार शाखाका प्रमुख उज्ज्वला दलीले जानकारी दिनुभयो ।

हिमालयले कोभिडको शुरुआत भएको चीनका पाँचवटै गन्तव्यको उडान यसअघि नै स्थगन गरिसकेको थियो भने पछिल्ला दिनमा दैनिकजसो हरेक गन्तव्यको उडान स्थगन गर्दै आएको छ । कम्पनीले पछिल्लो पटक बङ्गलादेशको ढाका, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, युएइको दुवई, अबुदाबी र साउदी अरेबियाको दमाम गन्तव्यको उडान स्थगन गरेको हो ।

निगमको अधिकांश उडान स्थगित राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)को अधिकांश अन्तरराष्ट्रिय गन्तव्यको उडान स्थगन भएको छ । कोभिड–१९ विश्वव्यापी सङ्क्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै निगमले क्रमशः नियमित गन्तव्यका उडान स्थगन गरेको हो । निगमले छिमेकी मुलुक भारतका तीनसहित छ देशका नौ गन्तव्यमा नियमित उडान भर्दै आएको छ ।

भारतको नयाँदिल्ली, मुम्बई र बैंलोर तथा मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, हङ्कङ, जापानको नारिता, युएईको दुबई र कतारको दोहा गन्तव्यमा निगमले नियमित उडान भर्दै आएको छ । कोभिडको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सम्बन्धित देशले अन्य मुलुकका नागरिकलाई आफ्नो मुलुक प्रवेशमा केही समयका लागि रोक लगाएकाले निगमले ती देशका गन्तव्यको उडान धमाधम स्थगन गर्न लागेको हो ।

निगमले आगामी आइतबारदेखि भारतका सबै तीन गन्तव्यको उडान स्थगन गर्ने तयारी गरेको छ । भारतले ट्राभल एड्भाइजरी जारी गरिसकेकाले २२ मार्च २०२० देखि भारतका गन्तब्यको उडान स्थगन गरिने निगमले जनाएको छ । निगमले यसअघि बिहीबार जापानको नारिता र युएईको दुबई गन्तव्यको उडान स्थगन गरेको थियो । आज रातिदेखि लागू हुनेगरी निगमले दुवै गन्तव्यको उडान स्थगन गर्ने निर्णय गरेको हो । त्यस्तै निगमले गत चैत ४ गते क्वालालम्पुरको उडान स्थगन गरेको थियो ।

बैंकक र हङ्कङ गन्तव्यको उडान भने अहिले स्थगन गर्ने योजना नरहेको निगमले उल्लेख गरेको छ । यसका अतिरिक्त नियमित उडान चालू रहेका गन्तव्यका लागि टिकट लिएका यात्रुले उडानको एक दिनअघि उडान रद्द गर्न चाहेमा पनि भुक्तानी गरेको पूरै रकम उपलब्ध गराइनेछ । निगमले यात्रुको उडान मिति परिवर्तन गर्दा शुल्क नलाग्ने व्यवस्था गरिएको जनाएको छ । नेपालबाट तीन नेपालीसहित ३० वटा वायु सेवा प्रदायक कम्पनीले अन्तरराष्ट्रिय उडान भर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया