दुई सय जनालाई राख्न सकिने क्वारेन्टाइन स्थल तयार

  चैत ०७, २०७६

मिक्लाजुङ (मोरङ) चैत ६ : प्रदेश १ सरकारको पूर्व निर्धारित कार्यक्रम अनुसार मोरङको मिक्लाजुङ– ४ हात्तीमारा कोरोना भाइरसको संक्रमण भएको शंका लागेका विरामीहरूलाई राख्ने क्वारेन्टाइनस्थल तयार गरिएको छ ।

नेपाली सेनाको पूर्वी पृतना मूख्यालयका अनुसार बुधबार २ सय जना विरामीलाई राख्न सकिने एकसयवटा टेन्ट तयार गरिएको हो ।

प्रदेश सरकारले गत फागुन २९ गते कोरोना भाइरसको आशंका लागेका विरामीलाई राख्न मोरङको मिक्लाजुङ र सुनसरीको श्रीलंका टापुमा क्वारेन्टाइनस्थल निर्माण गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार नेपाली सेनाको मिक्लाजुङ ४ टाँडीस्थित श्री सूर्यदल गण परिसरमा क्वारेन्टाइन निर्माण गरिएको हो । ३ दशमलव २ मिटर चौडाई र ३ दशमलव ७ मिटर लम्बाईका चिटिक्क परेका अस्थायी टेन्टमा दुईजना शंकास्पद विरामीलाई राख्न सकिने छ ।

पूर्वी पृतना मूख्यालयले दिएको जानकारी अनुसार त्यहाँ बस्ने व्यक्तिका लागि अलग अलग खाटको व्यवस्था मिलाईनेछ । त्यस्तै, हरेक टहरामा एउटा बत्ती र त्यो बत्ती बाल्ने अलग अलग स्वीचको व्यवस्था हुनेछ ।

एक पंक्तिमा आठवटा टहरा निर्माण गरिएको छ । त्यहाँबाट निस्किने व्यक्तिलाई उपचार, खानपान र शौचालय प्रयोग चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछ ।

तत्कालीन जनमुक्ति सेनाको क्याम्प रहेको सो स्थान ४२ विगाहा जमिनमा फैलिएको छ । सैनिकहरूले फुटबल खेल्ने मैदानमा हाल टेन्ट स्थापना गरिएको हो । सयवटा टेन्ट निर्माण भए पनि शौचालय, भान्सा, प्राविधिक सामान र चिकित्सकको टोली बस्ने व्यवस्था भने भइसकेको छैन ।

प्रदेश सरकारले निर्माण सामग्री ल्याउन साथ थप काम अघि बढ्ने पूर्वी पृतना मूख्यालयले जनाएको छ ।

यस्तै, मुख्यालयले खानेपानी र विजुली व्यवस्थापनका लागि स्थानीय निकायसँग सहकार्य गर्ने तयारी भइरहेको जानकारी दिएको छ ।

प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्रालयका प्रवक्ता कमल थापाले सरकारको निर्णय अनुसार क्वारेन्टाइन निर्माण गरिएको बताउनुभयो ।

संक्रमणको सूचना प्राप्त गर्ने, स्वास्थ्य परीक्षण गर्ने, क्वारेन्टाइनमा राख्ने, आइसोलेसनमा रिफर गर्ने र औषधोपचार गर्ने सम्मका सबै र व्यवस्थापनको योजना प्रदेश सरकारले गरेको छ ।

यता, मिक्लाजुङ ४ का वडाध्यक्ष वुद्धिमान लिम्बूले खानेपानी व्यवस्थापनका लागि मात्र सेनाले समन्वय गरेको बताउनुभयो ।

तपाईको प्रतिक्रिया