आठ महिनासम्म पुग्ने खाद्यान्न सञ्चित, कालोबजारीमाथि कारवाही

  चैत ०६, २०७६

काठमाडौं, चैत ६ : सरकारले कोभिड १९– को विश्वव्यापी संक्रमणको जोखिम भए पनि त्रसित भएर घरघरमा खाद्यान्न र अत्यावश्यक वस्तु सञ्चित गर्नु नपर्ने स्पष्ट पारेको छ ।

नियमित बजार अनुमगनसहित कृत्रिम अभाव र भ्रम सिर्जना गर्नेलाई कारवाही प्रारम्भ गरेको सरकारले आगामी चारदेखि छ महिनासम्म पुग्ने खाद्यान्न भण्डारण रहेकाले अभाव हुने आशंकाले चाहिने भन्दा बढी सामान खरिद नगर्न सरकारले सबैमा आग्रह गरेको हो ।

कोभिड १९– संक्रमण, रोकथाम तथा नियन्त्रणका लागि उपप्रधानमन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित उच्चस्तरीय समन्वय समितिले नियमित बैठक र विश्लेषण गरी क्षेत्रगत आधारमा कार्यान्वयन र परिचालन गरिरहेको सन्दर्भमा आज सरकारका प्रवक्ता एवं अर्थ र सञ्चार तथा प्रविधिमन्त्री डा युवराज खतिवडा र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सञ्चारकर्मीसँग पछिल्लो वस्तुस्थितिबारे जानकारी दिई कोरोना भाइरसप्रति सचेत भई आम जनतालाई सुसूचित गर्न आग्रह गर्नुभएको छ ।

‘नून र चिनीको अभाव छैन’
आपूर्तिमन्त्री भट्टका अनुसार आगामी आठ महिनासम्मका लागि पुग्ने औषधि, १० महिनालाई पुग्ने नून, तीन महिनालाई पुग्ने चिनी बजारमा पर्याप्त रहेको छ । उहाँले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले काठमाडौं उपत्यकाका पाँच स्थानमा विशेष पसल खोल्ने पनि जानकारी दिनुभयो ।

चीनको वुहान प्रान्तबाट ५७ दिनअघि फैलिएको कोभिड– १९ बाट विश्वका धेरै मुलुक प्रभावित भए पनि नेपालमा हालसम्म यसको संक्रमित भेटिएका छैनन् । तर विश्व स्वास्थ्य संगठन र अन्य निकायको विश्लेषणमा दक्षिण एशियामा संक्रमणको जोखिम हुनसक्ने जनाएपछि सरकारले विशेष सतर्कताका अपनाउन तयारी गरिरहेको छ । सरकारले कोभिड– १९ को संक्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर बुधबार माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्व निर्धारित परीक्षा स्थगनको निर्णय गरेको थियो ।

कालोबजारीलाई कारवाही
मन्त्री भट्टले पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको जनाउँदै केही ग्यास उद्यमीमा देखिएको समस्यालाई ध्यान दिएर सरकारले आयात सहज नबनाए उद्यमीलाई कारवाही गर्न चेतावनी दिएको जानकारी दिनुभयो ।

उहाँले गत २०७६ माघ महिनादेखि हालसम्म विभिन्न उद्यमी र व्यवसायीलाई कालोबजारी र अन्य कसूरमा कारवाही गरी रु ५६ लाख जरिवाना असुल गरिएको बताउनुभयो । मन्त्री भट्टले ग्यास र पेट्रोलियम पदार्थ आवश्यकताभन्दा बढी खरिद गरेर घरमा भण्डारण गर्दा दुर्घटनासमेत हुन सक्नेतर्फ सचेत गराउँदै इण्डक्सन चुलो र बिजुलीको प्रयोग बढाएर पनि आवश्यकता पूरा गर्न सकिने स्पष्ट गर्नुभयो ।

औषधि पसलहरुले जति माग्यो त्यति मात्रामा दिने प्रक्रियाका कारण सिटामोलको माग बढेको उल्लेख गर्दै आवश्यकतानुसार माक्स र सेनेटाइजरको आपूर्ति बढाइएको जानकारी दिनुभयो । मन्त्री भट्टले विपद्को अवस्थामा सञ्चारमाध्यमले आम जनतालाई सुशिक्षित र सुसूचित गराउन भूमिका खेल्नुुपर्नेमा पनि जोड दिनुभयो ।

प्रभावित पर्यटन क्षेत्रलाई राहत दिइने
अर्थमन्त्री डा खतिवडाले कोरोना भाइरसको जोखिमका कारण हवाई, यातायात, होटेल व्यवसाय, ट्राभल र ट्रकिङ तथा हस्तकला जस्ता क्षेत्र बढी प्रभावित भएको जनाउँदै जोखिमबाट मुक्तिपछि छिमेकी मुलुकबाट अफसिजनमा पनि पर्यटक ल्याएर क्षतिपूर्ति गराउन गृहकार्य भइरहेको जानकारी दिनुभयो । उहाँले पर्यटन उद्योगमा ऋण सहयोग वा यसबीचको अवधिको कर छुट दिने विषयमा पनि गृहकार्य भइरहेको स्पष्ट गर्नुभयो ।

मुलुकको कूल ग्राह्स्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ३ प्रतिशत मात्र भएकाले पर्यटन क्षेत्रमा देखिएको असरका कारण समग्र आर्थिक क्षेत्रमा ठूलो मात्रामा असर नपर्ने स्पष्ट गर्नुभयो ।

मूल्यवृद्धि घट्दो
मन्त्री डा खतिवडाले भाइसरको जोखिममा मानिसको ज्यान बचाउनुपर्ने भएकाले विश्व श्रम बजारमा जान रोक लगाइएका नेपाली श्रमिकलाई प्रधानमन्त्री रोजगार कार्यक्रममा सूचीकृत हुन आएमा रोजगारी दिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीबाट आउने विप्रेषणमा कमीका कारण तत्काल बैँंिकिङ क्षेत्रमा नकारात्मक असर नपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, “हामीसँग करिब ७० अर्बको बैँंिकिङ लगानी गर्नसक्ने स्थिति छ ।

मूल्यवृद्धि क्रमशः घट्दो दरमा छ । उद्योग क्षेत्रमा चार प्रतिशतले आयात वृद्धि भएको छ । चीनतर्फको नाकाबाट सामान ल्याउनमा केही समस्याका कारण स्याउ र लसुनको भाउ बढेको भए पनि चीनका नाकामा रोकिएका मालसामानका कन्टेनरलाई रोकिएको १४ दिन नेपालतर्फ ल्याउनेतर्फ पहल भइरहेको छ । त्यसकारण विषम समस्या आउँछ भन्ने अवस्था छैन । कुनै भ्रमित हुनुपर्दैन ।”

सरकारी र गैह्रसरकारी स्वास्थ्यकर्मी परिचालित
नेपाल सरकारका प्रवक्ता मन्त्री खतिवडाले कोभिड–१९ को जोखिमप्रति पूर्व तयारीलाई चुस्तदुरुस्त राखिएको, प्रदेश र स्थानीय तहसम्म यसबारे समन्वय बढाइएको, हवाई र स्थलमार्गबाट आउने विदेशी र तीनबाट सर्न सक्ने भाइरसको जोखिमलाई ध्यान दिएर पहिल्यै आवागनमा प्रतिबन्ध लगाउन थालिएकाले हालसम्म मुलुकका कुनै पनि व्यक्तिमा भाइरस नदेखिएर नेपाल बच्न सफल भएको बताउनुभयो । हाल नेपाल र छिमेकी मुलुकका १४१ नाकामा स्वास्थ्य परीक्षणको प्रबन्ध गरिएको छ ।

मन्त्री खतिवडाले सरकारी र गैह्रसरकारी क्षेत्रका स्वास्थ्यकर्मीलाईसमेत स्वम्सेवकका रुपमा परिचालन हुन आग्रह गरिएको र कोभिड– १९ को रोकथाम र उपचारका लागि आवश्यक पर्ने उपकरणका लागि छिमेकी मुलुक र अन्य मुलुकबाट सहयोग लिन थालिएको जानकारी दिनुभयो ।

उच्चस्तरीय समन्वय समितिका सदस्यसचिव एवं प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता नारायणप्रसाद बिडारीले हाच्छ्युँ आउँदैमा कोरोना जाँच गर्नु नपर्ने जनाउँदै त्यसरी जाँच गर्दा स्रोतको सदुपयोग नहुने बताउनुभो । उहाँले हालसम्म नेपालमा आशंिकतमध्ये करिब ५०० लाई कोरोना भाइरसको जाँच हुँदा नेगेटिभ पाइएको जानकारी दिनुभयो ।

सो अवसरमा सञ्चारकर्मीले एकीकृत र छिटो सूचना प्रवाह गर्न, स्थानीय तहसम्म समन्वय बढाउन, सरकारी स्वामित्वका सञ्चारमाध्यमबाट जनचेतनामूलक समाचार वृद्धि गर्न, जाँच गर्ने स्थल बढाउनेलगायत सुझाव दिएका थिए ।

तपाईको प्रतिक्रिया