बलात्कारको अपराधमा ११ वर्ष कैद

  चैत ०६, २०७६

तनहुँ, चैत ६ : जिल्ला अदालतले बलात्कारको आरोपित व्यास नगरपालिका–२ भोर्लेटार चोक निवासी ४२ वर्षीय राजन भनिने सेतनिधि पन्थलाई ११ वर्षको कैद फैसला गरेको छ । युवतीलाई बलात्कार गरेको आरोपमा पुर्पक्षका लागि जिल्ला कारागारमा थुनामा रहेका पन्थलाई अदालतका न्यायाधीश वासुदेव पौडेलको इजलासले आज उक्त फैसला गरेको हो ।

अदालतले पीडितलाई रु ५० हजार क्षतिपूर्ति दिनुपर्नेसमेत फैसला गरेको जिल्ला अदालतका स्रेस्तेदार सुदर्शन खनालले बताउनुभयो । उहाँका अनुसार पन्थ गत असार २० गतेदेखि नै पुर्पक्षका लागि थुनामा थिए । पन्थले गत जेठ २५ गते ऋषिङ गाउँपालिका–१ कोइदिममा छोरीलाई बलात्कार गरेको पीडितका अभिभावकले थाहा पाएपछि जेठ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए । प्रहरीले आरोपित पन्थलाई जेठ २६ गते नै दमौलीस्थित घरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक लीलाराज लामिछानेले बताउनुभयो ।

कैदीबन्दी भेटघाट बन्द
सदरमुकाम दमौलीस्थित जिल्ला कारागार प्रशासनले कैदीबन्दी भेटघाट गर्न आउने मानिसलाई कडाइ गरेको छ । कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखी कारागार प्रशासनले भेटघाटमा कडाइ गरेको हो । कारागारका सूचना अधिकारी नारायणप्रसाद अधिकारीले भन्नुभयो, “अत्यावश्यक अवस्थामा बाहेक प्रवेशमा रोक लगाइएको छ ।” अत्यावश्यक रुपमा भेट्न आउनुपर्ने अवस्था भएमा अनिवार्य मास्क लगाई साबुनपानीले राम्रोसँग हातखुट्टा धोएर मात्रै भेट्न दिने व्यवस्था गरिएको उहाँले बताउनुभयो ।

उक्त कारागारमा क्षमताभन्दा चारगुणा बढी कैदीबन्दी छन् । पैतीँस क्षमताको उक्त कारागारमा कैदी ८० र थुनुवा ६६ गरी हाल १ं४६ कैदीबन्दी छन् । कारागार परिसरमा निर्माण गरिएको नयाँ बन्दीगृह हस्तान्तरण गरिए पनि सञ्चालनमा ल्याउन ढिलाइ भएका कारण गर्मी मौसम शुरुआतसँगै कैदीबन्दीले कठिनाइ भोग्नुपरेको उहाँले बताउनुभयो । कारागार नजीक विद्युत्को थ्रीफेज नहुँदा सञ्चालन गर्न गाह्रो भएको छ ।

उहाँले भन्नुभयो, “नेपाल विद्युत् प्राधिकरण कार्यालयसँग कुरा भइरहेकाले छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको छ ।” क्षमताभन्दा बढी कैदीबन्दी हुँदा सुत्न र शौचालय जान समस्या हुने गरेको छ । कारागार परिसरमा निर्माण सम्पन्न गरिएको नयाँ बन्दीगृह सञ्चालनमा ढिलाइ भएका कारण कैदीबन्दीले सास्ती भोग्नुपरेको कारागारका चौकीदार बिष्णुहरि घिमिरेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया