कोरोना प्रकोप : इटालीमा एकैदिन ४७५ को मृत्यु, विश्‍वभर स‌ंक्रमितको संख्या २ लाख बढी

  चैत ०६, २०७६

रोम, चैत ६ : कोरोना भाइरस(कोभिड–१९) को संक्रमणबाट बुधबार इटालीमा हलिेसम्मकै बढी ४७५ जनाको मृत्यु भएको छ । इटालीको सिभिल प्रोटेक्सन एजेन्सीका अनुसार पछिल्लो चौबिस घण्टामा मात्रै ४७५ जनाको मृत्यु र थप चार हजार २ सय ७ जनामा संक्रमण देखिएको हो ।  बिहीबार बिहानसम्म इटालीमा मात्रै कोभिड–१९ को संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ९ सय ७८ पुगेको छ । त्यस्तै संक्रमितको संख्या भने ३५ हजार ७ सय १३ रहेको छ । संक्रमितमध्ये करिब ४ हजार निको भएको एजेन्सीले जनाएको छ ।

त्यस्तै बुधबार चीनमा भने भाइरसको संक्रमण कम हुँदै गएको छ । बुधबार चीनमा थप ८ जनाको मृत्यु भएको छ भने थप ३४ जनामा संक्रमण देखिएको छ । तर संक्रमितमध्ये ३४ जना नै बाहिरबाट आएका नागरिक भएको चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगले जानकारी दिएको छ । संक्रमितमध्ये २१ जना बेइजिङका रहेका छन् । बिहीबार बिहानसम्म चीनमा मृतकको संख्या ३ हजार २ सय ४५ पुगेको छ भने संक्रमितको संख्या ८० हजार ९ सय २८ पुगेको छ ।
त्यस्तै बिहीबारसम्म कोभिड–१९ को संक्रमणबाट इरानमा एक हजार एक सय ३५, स्पेनमा ६३८, फ्रान्समा २६४, अमेरिकामा १५५, बेलायतमा १०४, दक्षिण कोरियामा ९१, नेदरल्यान्ड्समा ५८, जापानमा ३२, जर्मनीमा २८, इन्डोनेसियामा १९ र फिलिपिन्समा १७ जनाको मृत्यु भएको छ ।

कोरोना रोक्न ‘लकडाउन’

चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न विश्वका कैयौं देशले ‘लकडाउन’ अर्थात् देशलाई पूर्णरूपमा बन्द गराइरहेका छन् । तीव्रगतिमा संक्रमण फैलन थालेपछि सर्वप्रथम चीनले नै ‘लकडाउन’ सुरु गरेको थियो । डिसेम्बार अन्तिममा हुबेई प्रान्तको वुहानबाट संक्रमण फैलिएसँगै चीनले कलकारखाना र विद्यालय बन्द, यातायात प्रतिबन्ध, आवतजावतमा रोक र सबै जनतालाई घरमै बस्न उर्दी जारी गरेको थियो । चिनियाँ नव वर्ष मनाएर फर्किन लागेका सबैलाई वुहान प्रवेशमा निषेध गरिएको थियो भने बिदा लम्ब्याइएको थियो । अत्यावश्यकबाहेक घरबाहिर जान दिइएको थिएन । लगभग सबैलाई एक प्रकारले घरमै बस्न बाध्य बनाइएको थियो । यस्तो प्रयासले चीनमा कोरोना संक्रमित संख्या नियन्त्रण उन्मुख छ ।
चीनपछि संक्रमण दर ह्वात्तै बढेको दक्षिण कोरियाले पनि केही निश्चित क्षेत्रलाई ‘लकडाउन’ गरेको थियो । दक्षिण कोरियाको कदमले संक्रमण थप फैलन पाएन । चीन र दक्षिण कोरियाले चालेका कदम पछ्याउँदै संक्रमण नफैलियोस् भनेर युरोपले पनि यात्रा प्रतिबन्ध र शैक्षिक संस्था बन्द गराएका छन् । ग्रोसरी स्टोर, फार्मेसी र ग्यास स्टेसनबाहेक अन्य सबै क्षेत्र बन्द गरिएका छन् । तथापि, चीन र युरोपका ‘लकडाउन’ मा केही फरक भने छन् । युरोपमा सार्वजनिक सवारीसाधन र कलकारखाना सञ्चालनमा छन् । बैंक र हुलाक सेवा चलिरहेका छन् तर रेस्टुरेन्ट, क्याफे र बार पूर्णरूपमा बन्द छन् ।
इटाली, स्पेन र फिलिपिन्सलगायत राष्ट्रले ‘लकडाउन’ गरिसकेका छन् । इटाली र स्पेनमा नागरिकलाई घरबाहिर ननस्किन भनिएको छ, भीडभाड हुने सबै क्षेत्र बन्द गरिएका छन् भने सबै रेस्टुरेन्ट, जिमहल, क्लब बन्द गर्न भनिएका छन् । सबै सार्वजनिक कार्यक्रम स्थगित गरिएका छन् । देशबाहिर जान र भित्रन रोकिएको छ र सबै सीमानाका बन्द गराइएको छ । सरकारी निर्देशन अवज्ञा नहोस् भनेर लाखौं सुरक्षाकर्मी सडकमा खटाइएका छन् । उल्लंघन गर्नेलाई कडा सजायको चेतावनी दिइएको छ । इटाली र स्पेनकै बाटो फ्रान्स र जर्मनीले पनि पछ्याएका छन् । अत्यावश्यकबाहेक सबै क्षेत्र बन्द गरिएका छन् र सडक सुनसान छन् । फ्रान्सले हिँडडुलमा गरेको प्रतिबन्ध उल्लंघन गरे कडा सजाय हुने बताएको छ र यसको अनुगमनका लागि १ लाख सुरक्षाकर्मी खटाएको छ ।
फिलिपिन्सले ५ करोड ७० लाख जनतालाई क्वारेन्टाइनमा बस्न भनेको छ । उसले अत्यावश्यक सामग्री बेच्नेबाहेकका सबै पसल बन्द गर्न र बाँच्नका लागि आवश्यक सामान किन्नबाहेक घरबाहिर ननिस्कन भनेको छ । अमेरिकाले आपत्काल घोषणा गर्दै भाइरस संक्रमण थप नफैलियोस् भनेर अर्बौं डलर लगानीको घोषणा गरिसकेको छ । सबै ५० वटै प्रान्तमा भाइरस संक्रमित भेटिएपछि अमेरिकाले थप कदम चाल्ने अपेक्षा गरिएको छ ।युरोपका अन्य राष्ट्रले पनि आंशिक रूपमा यात्रा प्रतिबन्ध, शैक्षिक संस्था बन्द र भीडभाड हुने सबै क्षेत्र बन्द गराएको छ । अत्यावश्यकबाहेक बाहिर ननिस्कन र सरकारी निकायले जारी गर्ने स्वास्थ्यसम्बन्धी चेतनामूलक सन्देशबमोजिम गर्न पनि भनेका छन् । विदेश भ्रमणबाट आएकालाई अनिवार्य क्वारेन्टाइनमा बस्न भनिएको छ । युरोप र अमेरिकाबाहेक एसियाली राष्ट्रले पनि संक्रमण रोकथाम तथा नियन्त्रणका लागि आंशिक वा पूर्ण प्रतिबन्धको सहारा लिइरहेका छन् ।
नर्सिङका विद्यार्थीलाई थप अधिकार

संक्रमण बढ्दै गएपछि अस्ट्रेलिया सरकारले नर्सिङ अध्ययनरत अन्तर्राष्ट्रिय विद्यार्थीलाई काम गर्न पाउनेबारे यस अघि लगाएको सीमालाई हटाउने निर्णय गरेको छ । प्रधानमन्त्री स्कट मरिसनले बुधबार दुई सातामा ४० घण्टा मात्र काम गर्न पाउने नियमलाई तत्कालका लागि हटाइएको जनाएका हुन् । अस्ट्रेलियामा हाल २० हजार अन्तर्राष्ट्रिय विद्यार्थी नर्सिङ अध्ययन गरिरहेका छन् । पछिल्लो निर्णयले नर्सिङ होम, सामुदायिक केयर, अस्पताल तथा अन्य स्वास्थ्य क्षेत्रमा काम गर्ने विद्यार्थीले सुविधा पाउनेछन् । यद्यपि यसबारे आवश्यकताअनुसार अनुगमन र परिमार्जन हुने प्रधानमन्त्री मरिसनले बताएका छन् ।
सरकारको पछिल्लो निर्णयअनुसार उनीहरूलाई तोकिएको भन्दा बढी समय काम गर्न दिइने छ । धेरै संख्यामा नेपाली विद्यार्थीसमेत नर्सिङ अध्ययन गरिरहेकाले परिवर्तित नियमले प्रत्यक्ष लाभान्वित हुने छन् । विद्यार्थी परामर्शको क्षेत्रमा काम गरिरहेका सञ्जीव पाण्डेले यो सुविधाले विद्यार्थीलाई थप आम्दानीको अवसर हुने भए पनि यसमा चुनौती पनि रहेको बताए । ‘सरकारले नर्सिङ अध्ययनरत विद्यार्थीलाई माया गरेर नभई स्वास्थ्य क्षेत्रमा काम गर्ने कामदारको आवश्यकता पूरा गर्न पछिल्लो सुविधा दिएको हो,’ पाण्डे बताउँछन् । कोभिड–१९ संक्रमणबाट सजग हुँदै अवसरको सदुपयोग गर्न उनले सल्लाह दिएका छन् ।
अस्ट्रेलिया सरकारले ठूला डिपार्टमेन्ट स्टोरमा काम गरिरहेका विद्यार्थीलाई यसअघि नै तोकिएको समयभन्दा बढी काम गर्ने अधिकार दिइसकेको छ । यसबाहेक प्रधानमन्त्री मरिसनले बुधबारदेखि नै लागू हुने गरी आफ्ना नागरिकलाई विदेश यात्रामा प्रतिबन्ध लगाएका छन् भने विदेश रहेका नागरिकलाई यथाशक्य घर फर्कन आग्रह गरेका छन् । अस्ट्रेलियामा हालसम्म ६ सय ३६ जना संक्रमित पुगेका छन् भने ६ जनाले ज्यान गुमाएका छन् ।
संक्रमित दुई लाख नाघे

कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या बुधबार नै २ लाख नाघेको छ । चीनबाट फैलिएको संक्रमण विश्वका १ सय ७० देशमा पुगेको छ भने मृतक संख्या ८ हजार ९ सय ६७ पुगेको । बिहीबार बिहानसम्म संक्रमितको स‌ंख्या २ लाख १९ हजार भन्दा बढी रहेको छ । संक्रमितमध्ये ८५ हजार भन्दा बढी निको भएर घर फर्किएका छन् भने एक लाखभन्दा बढी उपचाररत छन् ।
अवकाशप्राप्त स्वास्थ्यकर्मीलाई आग्रह

चीनबाहिर सबैभन्दा बढी प्रभावित इटालीको उत्तरी क्षेत्र लम्बार्डीले अवकाश प्राप्त सबै स्वास्थ्यकर्मीलाई कोरोना भाइरसविरुद्धको लडाइँमा सहभागी हुन आग्रह गरेको छ । लम्बार्डीबाटै इटालीमा संक्रमण फैलिएको थियो ।भाइरसका कारण विकराल अवस्था भएको भन्दै हालसालै अवकाश भएका स्वास्थ्यकर्मीलाई सेवामा फर्कन बुधबार आग्रह गरिएको हो । इटालीमा मृतकमध्ये ६५ प्रतिशत लम्बार्डी क्षेत्रकै छन् । उक्त क्षेत्रका अस्पतालमा संक्रमितको भीड लागेकाले विद्यमान स्वास्थ्यकर्मीले मात्र सेवा पुर्‍याउन नसकेपछि पूर्वकर्मचारीलाई पनि पुनः सेवामा फर्कन आग्रह गरिएको छ ।
संक्रमितकै सेवामा रहेका स्वास्थ्यकर्मी नै बिरामी पर्न थालेपछि सरकारको आह्वान आएको हो । ‘म पछिल्लो दुई वर्षभित्र अवकाश प्राप्त गरेका सबै चिकित्सक, नर्स र स्वास्थ्यकर्मीलाई यस्तो आपत्कालीन अवस्थामा सहयोगको आग्रह गर्दछु,’ लम्बार्डीका गभर्नर एट्टिलियो फोन्तानाले बुधबार पत्रकार सम्मेलनमा बताए । उनले लम्बार्डीमा अस्थायी अस्पताल सञ्चालन गर्ने तयारी भइरहेको भन्दै सबै निजी स्वास्थ्यकर्मीलाई पनि सहयोगका लागि आह्वान गरेका छन् । कान्तिपुर दैनिकबाट साभार

तपाईको प्रतिक्रिया