गभर्नर नेपालको पाँचवर्षे कार्यकाल आजदेखि पूरा

  चैत ०५, २०७६

काठमाडौँ, चैत ५ : नेपाल राष्ट्र बैङ्कका गभर्नर डा. चिरञ्जीवी नेपालको पाँच वर्षे कार्यकाल बुधबारदेखि पूरा हुँदैछ । अब नयाँ गभर्नर नियुक्ति गर्न सिफारिस समिति गठन गर्नुपर्ने प्रावधान छ ।

वर्तमान गभर्नर डा. चिरञ्जीवी नेपालले मङ्गलबार बिदाइ मन्तव्य दिँदै पाँच वर्षे कार्यकालमा देशको बैङ्किङ क्षेत्रको सुदृढीकरण, वित्तीय स्थायित्व तथा समष्टिगत आर्थिक स्थायित्व हासिल गर्ने कार्यमा उल्लेखनीय प्रगति भएको बताउनुभएको छ ।

उहाँले विनाशकारी भूकम्प र नाकाबन्दीपछिको प्रतिकूल अवस्थामा बैङ्क तथा वित्तीय संस्थाको सेवामा सुचारु, बैङ्क तथा वित्तीय क्षेत्रमा पुँजी वृद्धि, शाखा विस्तार एवं वित्तीय सेवामा पहुँच वृद्धिलगायतका धेरै काम आफ्नो कार्यकालमा भएको उल्लेख गर्नुभएको छ ।

राष्ट्र बैङ्क ऐनमा गभर्नर नियुक्तिका लागि अर्थमन्त्रीको अध्यक्षतामा पूर्वगभर्नर मध्येबाट एक जना र आर्थिक, मौद्रिक, बैङ्किङ, वित्तीय तथा वाणिज्य कानुनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले तोकेको एक जना सदस्य रहेको समिति गठन गरी सोही समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिस गर्नुपर्ने व्यवस्था छ ।  

तपाईको प्रतिक्रिया