बारले अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने

  चैत ०५, २०७६

काठमाडौँ, चैत ४ : नेपाल बार एसोसिएशनले विश्वभरि नै नोबेल कोरोना भाइरस फैलिरहेको अवस्थामा अत्यावश्यक कामबाहेक अन्य सेवा प्रवाह नगर्ने निर्णय गर्न सर्वोच्च अदालतसमक्ष अपिल गरेको छ ।

बारका महासचिव लीलामणि पौडेलले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा मानव स्वास्थ्यजस्तो संवेदनशील विषयमा गम्भीर भई कम्तीमा एक महिना सेवा प्रवाहमा कटौती गर्न अपिल गरेको हो ।

अदालतले नियमित परीक्षण गरेरमात्र सेवाप्रवाह गर्न शुरु गर्ने व्यवस्था मिलाउनुपर्ने वा उक्त व्यवस्था गर्न नसकिएमा बन्दी प्रत्यक्षीकरणको अत्यावश्यक बाहेकको सेवा प्रवाह नगर्ने निर्णय गर्न विज्ञप्तिमा बारले अपिल गरेको छ ।

अदालत धेरै सेवाग्राहीको भीडभाड हुने र भीडभाडमा कोरोनाको संक्रमणको सम्भावना हुने हुँदा संक्रमणको सम्भावनालाई न्यूनीकरण गर्न माग गरिएको छ ।

सर्वोच्च अदालत बार एसोसिएशनले कोरोना भाइरसको जोखिमलाई ध्यानमा राखी कम्तीमा तीन हप्ताका लागि सर्वोच्च अदालत बन्द गर्ने व्यवस्था मिलाउन अनुरोध गरेको छ ।

सर्वोच्च बारको आज आकस्मिक कार्यसमिति बैठकले देशका विभिन्न भागबाट यात्रा गरी सर्वोच्च अदालत आउनुपर्ने सेवाग्राही र कानून व्यवसायीको भीडभाड हुँदा कोरोना भाइरसको सम्भावित जोखिमलाई ख्याल गर्दै अदालत बन्द अनुरोध गरेको हो ।

बैठकपछि सर्वोच्च बारका सचिव शुभवराज आचार्यले जारी गर्नुभएको प्रेस विज्ञप्तिमा संक्रमणको स्थितिलाई न्यूनीकरण गर्न र सावधानी अपनाउन भनिएको छ ।

तपाईको प्रतिक्रिया