बेपत्ता आयोगको टोली रोल्पामा

  चैत ०२, २०७६

रोल्पा, चैत २ : बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले रोल्पाबाट छानविन प्रक्रिया अघि बढाएको छ । सशस्त्र द्वन्द्वमा बेपत्ता व्यक्तिको स्थलगत छानविन गर्न आयोग रोल्पा आएको हो ।

आयोगलाई प्राप्त उजुरीका आधारमा बेपत्ताको सत्यतथ्य अनुसन्धान गरी सिफारिस गर्न आफू स्थलगत अध्ययनमा आएको बेपत्ता पारिएका व्यक्तिको छानविन आयोगका अध्यक्ष युवराज सुवेदीले जानकारी दिनुभयो । “आयोगले पाएको समयावधिमै तोकिएका काम सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढेको छ”, अध्यक्ष सुवेदीले भन्नुभयोे ।

“अनुसन्धानपछिका प्रक्रियाका लागि कानूनको अभाव रहे पनि अनुसन्धानका लागि विद्यमान कानूनले अवरोध नगर्ने भएकाले उपलब्ध कानूनी अवस्थालाई अधिकतम उपयोग गर्छौं”, अध्यक्ष सुवेदीले भन्नुभयो । द्वन्द्वपीडितमैत्री कानून नभएको आफूले सुनेको बताउँदै त्यसका लागि सुझाव दिएको सुवेदीले भन्नुभयो ।

सशस्त्र द्वन्द्वको उद्गम थलो मानिने रोल्पामा विभिन्न माध्यमबाट कूल उजुरी १३२ परेका छन् । तीमध्ये ३२ वटा उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगमा पठाइएको छ । यसैगरी उजुरीकर्ताको अनुरोधमा तीन उजुरी सत्यनिरुपण तथा मेलमिलाप आयोगबाट फिर्ता पठाइएको छ । तामेलीमा पाँच उजुरी छन् ।

विस्तृत छानविन गर्ने भनी आयोगबाट ९८ उजुरीको निर्णय भइसकेको आयोगले जानकारी दिएको छ । आयोगले ९८ उजुरीलाई कारवाहीयुक्त उजुरीका रुपमा राखेको छ । उजुरीका आधारमा बेपत्ता पारिएका व्यक्तिको संख्या ९९ छन् ।

आयोगका सदस्य विश्वप्रकाश भण्डारी, डा गंगाधर अधिकारी, सुनिल रञ्जनसिंह र सरिता थापासँगै आयोगका कर्मचारी संलग्न छन् । सदरमुकामको जिल्ला सरकारी वकिल कार्यालय र जिल्ला समन्वय समितिको कार्यालयमा चार वटा कार्यटोली बनाएर अनुसन्धानको काम गरिरहेको आयोगका सचिव कृष्णजीवी घिमिरले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया