काभ्रेका ३२ हजार बालबालिकालाई खोप लगाइँदै

  चैत ०२, २०७६

काभ्रेपलाञ्चोक, चैत २ : दादुरा–रुवेला खोप अभियानअन्तर्गत यहाँका नौ महिनादेखि पाँच वर्षसम्मका करिब ३२ हजार बालबालिकालाई खोप लगाइँदैछ । जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा नरेन्द्र झाले आज धुलिखेल नगरपालिकास्थित २८ किलोमा आयोजित कार्यक्रममा अभियानको शुभारम्भ गर्नुभयो ।

जिल्लामा पहिलो चरणमा चैत २ गतेदेखि १० गतेसम्म चार नगरपालिका र चार गाउँपालिका तथा दोस्रो चरणअन्तर्गत १४ देखि २२ गतेसम्म बाँकी स्थानीय तहमा खोप कार्यक्रम सञ्चालन गर्ने योजना सो कार्यालयको रहेको छ । यहाँ छ नपा र सात गाउँपालिका छन् । प्रचारप्रसार तथा आफ्ना छोराछोरीलाई दादुरा–रुवेलाविरुद्ध खोप लगाउन अनुरोध गर्दै अभिभावकलाई निमन्त्रणापत्र पठाइएको उहाँले बताउनुभयो । प्रमुख डा झाले भन्नुभयो, “अन्तरराष्ट्रियरूपमा फैलिएको कोरोना भाइरसको सङ्क्रमणका कारण औपचारिक कार्यक्रम नगर्ने निर्णय भएको छ, हामीले भरपुर प्रचारप्रसार र निमन्त्रणा गरिसक्यौँ ।”

उहाँका अनुसार जिल्लाको ९६२ खोप केन्द्रमा एक हजार ९२४ स्वस्थ्य सेवक तथा एक हजार ८७ खोप कार्यकर्ता परिचालन गरिएको छ । ‘नेपालबाट दादुरा–रुवेला रोग पूर्णरूपमा निवारण गरौँ’ भन्ने मूल नारासहित “नौदेखि ५९ महिनासम्मका सबै बालबालिकालाई नजिकैको खोप केन्द्रमा ल्याउनुहुन सादर अनुरोध गर्दछौँ”, व्यहोराको निम्तापत्र अभिभावकसमक्ष पठाइएको हो । सम्बन्धित स्थानीय तहका प्रमुख, स्वास्थ्य संस्था प्रमुखले सम्बोधन गरिएको निमन्त्रणापत्र स्वास्थ्य स्वयंसेविकामार्फत सबै बालबालिकाको अभिभावकलाई पठाइएको हो ।

सन् २०१६ मा सञ्चालित दादुराविरुद्धको खोप अभियानमा जिल्लाका करिब २४ प्रतिशत बालबालिका छुटेकाले यसपटकको अभियानमा कुनै पनि बालबालिका नछुटुन् भन्ने उद्देश्यले घरघरमा निम्तापत्र पठाइएको प्रमुख डा झाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “बालबालिका तथा अभिभावकलाई सजिलो होस् भन्ने उद्देश्यले सबै बस्तीको पायक पर्ने स्थानमा खोप केन्द्र राखिएका छन् ।” यसजिल्लालाई दुई वर्षअघि नै ‘पूर्ण खोप जिल्ला’ घोषणा गरिसकिएको छ । वडा क्षेत्रका सम्पूर्ण बालबालिकाले सो खोप लगाएको प्रमाणित गर्ने जिम्मेवारी सम्बन्धित वडाध्यक्षलाई दिइएको छ । “यसपालि कुनै बालबालिका खोपबाट छुटेको भए, त्यसको सम्पूर्ण जिम्मेवारी वडाध्यक्षले लिनुपर्र्नेछ”, उहाँले भन्नुभयो । ९५ प्रतिशतभन्दा माथिको सङ्ख्यामा बालबालिकाले खोप लिएको भए त्यसलाई ‘पूर्ण खोप’ मानिने नीति छ । सरकारले दादुरा–रुवेला खोप अभियानअन्तर्गत पहिलो चरणमा फागुन १ गतेदेखि प्रदेश नं १, २ र ५ मा ३५ जिल्लाका १८ लाख २४ हजार ४३३ बालबालिकालाई खोप दिएको थियो ।

अभियानको दोस्रो चरणअन्तर्गत वाग्मती, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका ४३ जिल्लाका ११ लाख ५७ हजार ७७१ बालबालिकालाई खोप दिइने तयारी गरिएको हो । साथै यस अभियानअन्तर्गत नै झापादेखि कञ्चनपुरसम्मका १६ जिल्लामा भने सब बालबालिकालाई दादुरा–रुवेला खोपसँगै पोलियो थोपा पनि खुवाउने सरकारको योजना छ । खोप कार्यक्रमलाई बाल मृत्युदर घटाउने ठूलो औजारका रूपमा लिइएको छ । बालबालिकामा अङ्गभङ्गता तथा अकालमै हुने मृत्युबाट बचाउने उद्देश्यले दादुरा–रुवेला खोप अभियान थालिएको हो । यो खोप सन् २००४ बाट हरेका चार वर्षमा अभियानकै रूपमा सञ्चालन गरिँदै आइएको छ ।

तपाईको प्रतिक्रिया