सभापति देउवालाई महामन्त्री कोइरालाको आग्रह

  चैत ०१, २०७६

काठमाडौँ, चैत १ : नेपाली काँग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले पार्टीको नवलपरासी (पश्चिम)को कार्यसमिति यथावत राख्न सभापति शेरबहादुर देउवालाई पत्रमार्फत आग्रह गरेका छन् ।

सभापति देउवाले नवलपरासी (पश्चिम)मा पार्टीको कार्यवाहक जिल्ला सभापति अर्जुन पोख्रेलको स्थानमा विष्णुप्रसाद पौडेललाई नयाँ सभापतिको जिम्मेवारी तोकेपछि महामन्त्री कोइरालाले असहमति जनाउँदै सो पत्र लेखेका हुन् ।

मुलुकको सङ्घीय संरचनाअनुसार नवलपरासी जिल्ला विभाजन हुँदा काँग्रेसले नवलपरासी (पश्चिम) मा रिक्त रहेको जिल्ला सभापतिको जिम्मेवारी साविक नवलपरासी जिल्लाको कार्यसमितिका उपसभापति अर्जुन पोखरेललाई कार्यवाहकको जिम्मेवारी दिएको थियो । सभापति देउवाले यही फागुन २३ गते विधानबमोजिम भन्दै नवलपरासी (पश्चिम) को जिल्ला सभापतिमा विष्णुप्रसाद पौडेललाई जिम्मेवारी तोकेका थिए ।

महामन्त्री कोइरालाले भने पार्टीको १४औँ महाधिवेशनको तयारीका लागि सम्बन्धित तहको अधिवेशन र महाधिवेशन तोकिएको अवस्थामा पोख्रेललाई हटाई पौडेललाई जिम्मेवारी दिने कार्य विधान प्रतिकूल रहेको उल्लेख गरेका छन् । साथै उनले नवलपरासी (पश्चिम) जिल्ला विधानको व्यवस्थाबमोजिम पोख्रेल कार्यवाहक सभापति रहेको समितिलाई नै यथावत कायम राख्न अनुरोधसमेत गरेका छन् ।

साथै महामन्त्री कोइरालाले सहमति बिना विधानमा तोकिएबाहेकका विभाग बनाइनु, पार्टीमा केही साथीलाई केन्द्रीय सदस्य र आमन्त्रित सदस्य मनोनयन गरिनुले पार्टीभित्र एकताको वातावरण थप बिथोलिनेतर्फ पनि सभापतिको ध्यानाकर्षण गराएका छन् । नेतृत्वबाट एकाङ्कीरुपमा हुने यस्ता निर्णयले पार्टीको १४ औँ महाधिवेशनको निष्पक्षता र सुनिश्चितता गम्भीररुपमा प्रभावित हुने महामन्त्री कोइरालाले उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया