विश्वभरी करिब एक लाख ३५ हजारमा कोरोना भाइरस संक्रमण

  फागुन ३०, २०७६

पेरिस, ३० फागुन : विश्वभरी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको सङक्रमणको कारण शुक्रबारसम्म एक लाख ३४ हजार ९०४ जनामा संक्रमण भएको छ । यसबाट चार हजार ९८४ जनाको मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ७० हजार ३९४ जनाको सफल उपचारपछि घर फर्किएका स्वास्थ्य अधिकारीले जनाएका छन् । चीनको हुबेई प्रान्तको उहान शहरबाट शुरु भएको कोरोना भाइरस सक्रमणबाट चीनमा सबभन्दा बढी मृतक र संक्रमितको संख्या रहेको छ । यद्यपी चीनमा हाल यस भाइरसको संक्रमण कम भएको समाचारमा जनाइएको छ ।

गत डिसेम्बरको अन्त्यबाट शुरु भएको यस भाइरस संक्रमणबाट चीनमा तीन हजार १२७ मृत्यु भएको छ भने ८१ हजारमा संक्रमण भएको छ । रोग फैलिएका देशबाट विवरण सार्वजनिक हुने क्रम जारी छ । हालसमम १२० भन्दा बढी देशमा यस भाइरसको संक्रमण फैलिएको बताइएको छ । अमेरिकामा यस भाइरसको संक्रमणबाट ४१ को मृत्यु भएको छ । फ्रान्समा ६१ को मृत्यु भएको छ । जापानमा १९ को मृत्यु भएको छ ।

पछिल्लो समय संक्रमण धेरै फैलिएको इटालीमा संक्रमितको संख्या १५ हजार ११३ पुगेको छ । इटालीमा हालसम्म एक हजार १६ जनाको मृत्यु भएको छ । इरानमा संक्रमितको संख्या १० हजार ७५ पुगेको छ । हालसम्म ४२९ जनाको मृत्यु भएको छ भने तीन हजार २७६ जना उपचार गराएर घर फर्किएका छन् । यसैगरी स्पेनमा संक्रमित हुनेको संख्या झण्डै तीन हजार पुगेको छ भने ८६ जनाको मृत्यु भएको छ ।

पोल्याण्ड र अल्जेरियामा पहिलो एक–एकजनाको मृत्यु भएको छ । पोल्याडमा ५७ वर्षीया शिक्षिकाको मृत्यु भएको जनाइएको छ । पोल्याडका स्वास्थ्य अधिकारीकाका अनुसार देशभरमा कूल संक्रमितको संख्या ४६ पुगेको छ । अल्जेरियामा भने दुई दर्जन बिरामी भएका छन् ।

पाकिस्तानमा कोरोना भाइसबाट संक्रमितको संख्या २१ पुगेको छ । कूल १९ बाट बढेर बिहीबार २१ पुगेको हो । त्यहाँ इरानबाट आएका करिब चार हजारजनालाई क्वारेन्टाइनमा राखिएको छ । कोरोनाकै कारण भारतको जम्मु र काश्मिर क्षेत्रका विद्यालय बन्द गरिएको छ । यही मार्च ३१ सम्मका लागि विद्यालय बन्दको घोषणा गरिएको हो । भारतका अन्य केही प्रदेशमा पनि विद्यालय बन्द गरिएको छ ।

सिंगापुर र मलेसियामा बिहीबार थप व्यक्तिमा संक्रमण पुष्टि भएसँगै यहाँ कोरोना भाइरसको संक्रमणबाट बिरामी हुनेको संख्या क्रमशः १८७ र १५८ पुगेको दुबै देशका अधिकारीले बताएका छन् ।

तपाईको प्रतिक्रिया